ब्रेक्जिटपछि इयूबाट बेलायत छिर्न भिसा चाहिने



लन्डन : युरोपेली संघ (इयू) बाट बाहिरिने तयारी गरेको बेलायतले इयू क्षेत्रबाट बेलायत आउन चाहनेका लागि नयाँ नीति लागू गर्नेभएको छ । बेलायतले इयू क्षेत्रबाट बेलायत आप्रबासनबारे नयाँ प्रस्ताव बुधबार सार्वजनिक गरेको छ । ब्रेक्जिटपछि इयूबाट आफूकहाँ आउने प्रवासीहरुलाई लक्षित गरी बेलायतले नयाँ नीति बनाएको एएफपीले जनाएको छ । 

बेलायती गृहमन्त्री साजित जाबिदले भने, ‘ब्रेक्जिटपछि इयू सदस्य राष्ट्रहरूबाट बेलायत आउने नागरिकलाई भिसाको व्यवस्था गरिनेछ र नयाँ नियमअनुसार राष्ट्रियताका आधारमा नभई योग्यताका आधारमा प्रवेश गर्न पाइने व्यवस्था गरिनेछ ।’

यसले इयू र इयूबाहेकका व्यक्तिहरूलाई बेलायत प्रवेशमा समानता ल्याउने उनले बताए । ‘यो कुल आप्रवासन समस्यालाई व्यवस्थित गर्न र दीर्घकालीन सामाधानको बाटो तय गर्ने महत्वपूर्ण आधार बन्नेछ,’ उनले बिबिसी रेडियोसँगको कुराकानीमा बताए । उनले थपे, ‘यो नयाँ नीति आप्रवासीको जनसङ्ख्या घटाउने कुनै विशेष लक्ष्यअनुसार आएको भने होइन ।’ 

नयाँ नियमले स्वदेशी कामदारलाई प्राथमिकता दिने उनले प्रस्ट पारेका छन् ।

बेलायतको नयाँ आप्रवासन नीति कडा भएको टिप्पणी पनि सुरु भएको छ ।  व्यावसायिक समूहहरूले ब्रेक्जिट सम्झौता गरिनु पहिले आप्रवासनबारे लिइने कडा नीतिले बेलायती अर्थतन्त्रलाई समस्यामा पार्नसक्ने भनी यस विषयमा संवेदनशील बन्न आग्रह गरेका छन् । 

 

प्रतिक्रिया दिनुहोस्