यसरी तयारी गर्नुस् लाेकसेवा, निश्चय नै सफल भइन्छ



चिरञ्जीवी बस्नेत

लोकसेवा आयोगबाट लिइने राष्ट्रसेवक कर्मचारीको विभिन्न तहको परीक्षा दिँदै २०७४/७५ को शाखा अधिकृत पद, न्याय सेवातर्फ प्रथम स्थानमा उत्तीर्ण हुने क्रममा जानेबुझे र भोगेका निम्न विषयमा अनुभव राख्ने प्रयास गरेको छु ।

पेसागत दृष्टिकोण र अध्ययनको तयारी

निजामती सेवाले राष्ट्रसेवासँगै व्यक्तिगत वृत्तिविकासको मार्ग प्रदान गर्ने हुनाले लोकसेवाको परीक्षालाई उत्तम अवसरको रूपमा लिनुपर्दछ । सादा जीवन जीउँदै देश र जनताको सेवामा समर्पित रहने र जतिसुकै दुःख, कष्ट, हण्डर खाए पनि पुनः उठेर अगाडि बढ्न सक्छु भन्ने प्रण लिनुपर्दछ । अध्ययनको तयारीको लागि शुरुमा सम्बन्धित पदको पाठ्यक्रम अध्ययन गरी विषयगत रूपमा अध्ययन अवधि र समयतालिका बनाई अनिवार्य कार्यान्वयन गर्नुपर्दछ ।

पाठ्य सन्दर्भ सामग्री, स्रोत र अध्ययन विधि

सम्बन्धित पदको पाठ्यक्रमअनुसार आवश्यक स्रोत पुस्तकको रूपमा साथी वा गुरुसँग बुझेर कुनै लेखकको किताब लिई पाठपिच्छे स्पष्ट अवधारणात्मक र व्यवहारिक पक्ष बुझ्नु पर्दछ । विषय र पाठसँग मिल्ने तथ्य सन्दर्भहरू संविधान, ऐन, नियम, बजेट, योजना, क्षेत्रगत नीति, प्रतिवेदन, सर्वेक्षण, जनगणना र पत्रपत्रिका आदिबाट लिई टिपोट गर्नुपर्दछ । पाठसँग मिल्ने जुनसुकै स्रोत सामग्री अध्ययन गरे पनि आवश्यक बुँदा टिपोट गरी त्यसलाई विश्लेषण गरी उत्तर लेखनमा सदुपयोग गर्नुपर्दछ । अध्ययन गर्ने विषय जति झन्झटिलो भए पनि व्यवहारिक र रुचिपूर्ण बनाई अध्ययन गर्न प्रयास गनुर््पर्छ । उद्देश्य मिल्ने मेहनति साथीको समूह बनाई अध्ययन गर्दा अति प्रभावकारी हुन्छ । त्यस्तै अग्रज, गुरु र मित्रहरूसँग सोधखोज गर्नाले थप ज्ञान सीप र ऊर्जा प्राप्त हुन्छ ।

लेखन अभ्यास

परीक्षामा लेखन शैलीलाई सफलताको कडी मानिने हुँदा सरल, स्पष्ट, शुद्ध र संक्षिप्त लेखन शैलीको विकास गर्नु पदर्छ । लेखन सीप विकासमा जति सक्दो बढी पटक लेख्ने अभ्यास जरुरी हुन्छ । समूहमा वा ट्युसन सेन्टरमा गई अभ्यास परीक्षा दिने गर्दा लेखन सीप विकाससँगै समय र तनाव व्यवस्थापन गर्ने बानी बस्छ । उत्तर लेख्दा निश्चित ढाँचामा प्रश्नले सोधेको विषयको सैद्धान्तिक, व्यवहारिक साथै आवश्यक तथ्य, तथ्याङ्क, चित्र र उदाहरणसमेत प्रस्तुत गर्दा राम्रो हुन्छ । उत्तर दिँदा छोटा र सरल वाक्यलाई बुँदागत र छरितो हरफमा मिश्रण गर्दा अझ आकर्षक देखिन्छ ।

समय व्यवस्थापन

लोकसेवाको प्रतिस्पर्धामा खरो उत्रन आफूसँग भएको प्रत्येक समयलाई तालिकाअनुसार सदुपयोग गर्नुपर्दछ । प्रत्येक खाली समय र खासगरी बिहानको समयलाई बढी उपयोग गर्नुपर्दछ । साथीभाइ गुरुसँग र ट्युसन सेन्टरमा रहँदा विषयवस्तु अन्तर्गतमै छलफल गर्नुपर्दछ । परीक्षाको केही महिना अघिदेखि नै परिवार, इष्टमित्र, कार्यालय प्रमुख, सहकर्मीसँग आफ्नो उद्देश्य, कार्य र समयको लागि जानकारी गराउनुपर्दछ । यसले गर्दा व्यावहारिक तनावबिना निर्धक्क भई परीक्षाको तयारीमा एकत्रित हुन सकिन्छ ।

परीक्षा र तनाव व्यवस्थापन

लोकसेवाको प्रतिस्पर्धात्मक परीक्षाको समयमा तनाव हुनु स्वभाविकै हो। कमभन्दा कम र अझ उत्साहित भई परीक्षा दिनसके परीक्षा राम्रो हुन्छ । यसका लागि परीक्षाको समयमा आफ्नो स्वास्थ्यको ख्याल गर्ने, परीक्षा समयभन्दा एक घण्टाअघि नै केन्द्रमा पुग्ने, खानेपानी साथै राख्ने, परीक्षाको उत्तरपुस्तिकामा नाम, रोल नं. र ‘कि’ ध्यानपूर्वक लेख्ने र दोहो¥याउने, प्रश्नलाई पुनः पढी बुझेर मागेको विषय मात्र निश्चित ढाँचामा लेख्ने । सबै प्रश्नलाई बराबर समय छुट्टाई सोही अनुसार उत्तर लेख्ने र अन्तमा केही मिनेट बचत गरी भुलसुधार गर्नसके उत्तरमा निखारता आउँछ । यसैगरी परीक्षाको अन्तिम चरणमा हुने कम्प्युटरको लागि समय पहिलेदेखि नै अभ्यास गर्ने, सामूहिक परीक्षा र अन्तर्वार्ताको लागि आफू, पेशा र पाठ्यक्रम सम्बन्धित कुराहरूमा स्पष्ट धारणा बनाई आत्माविश्वासका साथ प्रस्तुति दिनुुपर्छ ।

सङ्कटको साथी

लोकसेवाको परीक्षामा जहिले पनि उत्तीर्ण हुन सकिन्छ भन्न सकिँदैन । यसमा आफूले गरेको प्रयाससँगै अन्य प्रतिस्पर्धीको क्षमतामा सापेक्षित रूपले भर पर्दछ । त्यस्तै आफ्नो स्वास्थ्य, समय, सीप, सोच, कपि जाँच्नेको बुझाई, धारणा आदि कारणले पनि कहिलेकाँही आफूले नसोचेको नतिजा आई प्रतिस्पर्धामा बाहिर पर्न सकिन्छ ।

-गाेेरखापत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्