हातेमालो गरी अगाडी बढ्नका लागि विश्वका कम्युनिष्टले नेपाललाई गरे यस्तो आग्रह



काठमाडौ : टर्कीमा जारी विश्वका कम्युनिस्ट पार्टीहरूको २१ औ सम्मेलनमा विश्वका कम्युनिष्टहरुले नेपाली कम्युनिष्टहरुले अवलम्वन गरेको नीतिका विषयमा चासो लिएका छन् ।

सम्मेलनमा नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट सहभागी नेकपाका युवा नेता तथा विदेश विभाग उपप्रमुख विष्णु रिजालका अनुसार नेपालमा कम्युनिस्ट आन्दोलनलाई नयॉ ढंगबाट विकास गर्न खोजिरहेको सन्दर्भमा विश्वका कम्युनिष्ट पार्टीका नेताहरुले विशेष अभिरुची देखाएका छन् । सम्मेलनमा नेपालमा कम्युनिष्ट आन्दोलनलाई विश्व कम्युनिष्ट नेताहरुले हातेमालो गरेर अघि बढ्न, एक अर्काका अनुभवहरूबाट सिक्दै र भ्रमणहरू आदान–प्रदान गर्नका लागि आग्रह गरेका छन् ।

बैठकमा समाजवादी मुलुकका कम्युनिस्ट पार्टीका विदेश मामिला विभागका जिम्मेवार व्यक्तिहरुको सहभागिता रहेको छ । टर्कीको सुन्दर शहर इज्मिरमा जारी बैठकमा नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट सम्बोधन गरिएको नेकपाका नेता रिजालले बताए ।

नेकपाका युवा नेता रिजालका अनुसार बैठकमा ६० देशका ७५ कम्युनिष्ट पार्टीहरुको सहभागिता छ भने बैठकको टर्की र ग्रीसका कम्युनिष्ट पार्टीले संयुक्त रुपमा आयोजना गरेको हो । विश्वका सबै खालका कम्युनिष्ट पार्टीहरुको साझा मञ्चका रुपमा रहेको कम्युनिष्ट तथा श्रमिक पार्टीहरुको अन्तर्राष्ट्रिय बैठक (आइएमसीडब्लुपी)नामक उक्त मञ्च सन् १९९८ बाट हरेक वर्ष आयोजना हुँदै आएको जनाईएको छ ।

सन् १९१९ मा लेनिनको नेतृत्वमा ‘कम्युनिष्ट इन्टरनेशनल’ स्थापना भएको सय वर्षको सन्दर्भ पारेर आयोजना गरिएको बैठकको मुल नारा ‘कम्युनिष्ट अन्तर्राष्ट्रिय स्थापनाको सयौं वार्षिकोत्सव शान्ति र समाजवादका लागि लडाइँ जारी छ’ रहेको छ ।

शुक्रवार शुरु भएको सम्मेलन तीन दिनसम्म चल्ने बैठकको शुरुवात आयोजक टर्की कम्युनिष्ट पार्टीका महासचिव केमल ओकुयान र ग्रीस कम्युनिष्ट पार्टीका महासचिव दिमित्रिस कोत्सोम्वसले गरेका थिए ।

मुख्य बैठक अघि विहिवार बसेको कार्यकारी समूह (वर्किङ ग्रुप ) को बैठकले एजेन्डा तय गर्नुका साथै बैठकपछि जारी गरिने वक्तव्यको मस्यौदामा सहमति जुटाएको थियो । विश्वका २५ वटा प्रमुख कम्युनिष्ट पार्टीहरु रहेको वर्किङ ग्रुपमा नेकपा पनि सदस्य रहेको छ ।

निर्वाचनबाट सत्तामा आएको विश्वको एक मात्र कम्युनिष्ट पार्टी भएकाले नेकपालाई विशेष रुपमा लिइन्छ । कम्युनिष्ट प्रणाली भएका चीन, क्युवा, उत्तर कोरिया, भियतनाम र लाओसले पनि आ –आफ्नो देशको मौलिकता अनुसार समाजवाद निर्माण गर्नुपर्नेमा जोड दिईएका रिजालले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्