नाला खन्दा पाइप फुटाइएपछि जलेश्वरबासी काकाकुल



गौशाला : महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिकाका बासिन्दा एक महिनादेखि खानेपानीबाट वञ्चित छन् । 

 

नेपाल खानेपानी संस्थान शाखा कार्यालय महोत्तरी जलेश्वरबाट खानेपानी धाराको लाइन लिएका जलेश्वर नगरपालिकाका एक हजार १ सय ८१ उपभोक्ताले एक महिनादेखि खाने पानी पाउन सकेका छैनन् । 

 

सर्वसाधारण खानेपानीको अभावमा टाढाटाढा पुगेर ल्याउनुपर्ने अथवा चापाकल, मोटर र बोरिङजस्ता स्रोतबाट पानी खानुपर्ने अवस्था रहेको जलेश्वर–२ का राजकिशोर साहले बताए । पानी नआएपछि पिउन, खाना पकाउन, नुहाउन, लत्ताकपडा धुन समस्या भएको जलेश्वर–४ का राजु श्रेष्ठले बताए ।

खानेपानी संस्थान जलेश्वरका प्रशासन प्रमुख अजयकुमार प्रसादले सडकमा नाला निर्माणका क्रममा खानेपानीका पाइप फुटेपछि पानीको आपूर्ति रोक्नुपरेको बताए । उनले संस्थानको कमजोरी नरहेको दाबी गरे । 

‘पानी छ, जुनसुकै बेला दिन सक्छौं तर नाला निर्माणको लागि ह्युम पाइप राख्न स्काभेटरले बाटो खन्दा ठाउँठाउँमा खानेपानीको पाइप फुटाइएको छ । त्यही भएर आपूर्ति गर्न नसकिएको हो’, उनले भने । नाला निर्माणको ठेक्का लिएको कम्पनीले फुटेका पाइप मर्मत गरिदिएको छैन ।

खानेपानी कार्यालयले जलेश्वर नगरपालिकाका प्रमुख रामशङ्कर मिश्र र महोत्तरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले ठेकेदार कम्पनीले खानेपानीको पाइप फुटाएकै बखत मर्मतसम्भार गर्नुपर्ने र उपभोक्ताले निर्बाध पानी खान पाउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्