वीरगन्ज टेड एक्स २.० को तयारी अन्तिम चरणमा 



वीरगन्ज : वीरगन्जमा टेडएक्सको दोस्रो संस्करण हुँदैछ । २०१६ को पहिलो संस्करणको सफलतापछि वीरगन्जका स्थानीय युवा समूहले दोस्रो संस्करण 'टेडएक्स वीरगन्ज २.०' आयोजना गर्न लागेको हो ।

 

वीरगन्जस्थित नगर सभागृहमा पुष ७ गते हुने टेड एक्सको तयारीमा अहिले आयोजक युवा व्यस्त छन् । कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएका छन् ।

अन्तर्राष्ट्रिय मान्यताप्राप्त टेड एक्स कार्यक्रममा विभिन्न क्षेत्रमा जानकारी राख्ने व्यक्तिलाई आफ्नो अनुभव बाँड्ने मञ्च दिइन्छ । उनीहरूका कथा सुनेर युवाहरूले अघि बढ्ने प्रेरणा पाऊन् भन्ने मुख्य उद्देश्य राखिएको छ । 

 

सोहीअनुरूप वीरगन्जमा हुन लागेको टेड एक्स २.० मा पनि विभिन्न क्षेत्रका जानकार व्यक्तिलाई वक्ताका रूपमा बोलाइने आयोजकले जानकारी दिएका छन् ।

 

आयोजकका तर्फबाट आशु सर्राफले टेड एक्सबारे जानकारी दिँदै भने, ‘हामीले विभिन्न क्षेत्रमा नाम कमाएका व्यक्तिलाई आमन्त्रण गरेका छौं । उहाँहरू समाजमा विभिन्न क्षेत्रमा कार्यरत हुनुहुन्छ र उहाँहरूको कथाले पक्कै पनि वीरगन्जलगायत ठाउँका युवालाई प्रोत्साहित गर्नेछ ।’

 

कार्यक्रममा नेपालको ग्रामीण क्षेत्रमा वायरलेस टेक्नोलोजी पुर्‍याएका महावीर पुन, सामाजिक चिन्तक र राजनीतिक विश्लेषक सीके लाल, पोखरिया नगरपालिकाकी उपप्रमुख सलमा खातुन, वीरगन्जमै हुर्केबढेका वैज्ञानिक विक्रम उपाध्याय र ट्रान्सजेन्डर रुकसाना कपाली वक्ताका रूपमा बोलाइएका छन् । यी पाँचैजना आआफ्नो क्षेत्रमा नाम कमाएका व्यक्ति हुन् ।

 

उहाँहरूले बोलको कुरालाई रेकर्ड गरी ट्रेडको युट्युब च्यानलमा राखिनेछ । टेडको युट्युब च्लानलको माध्यमले कार्यक्रममा उपस्थित नभएकाहरुले पनि कार्यक्रम हेर्न सक्नेछन् । जसले गर्दा वीरगन्ज जान नसक्नेहरूले पनि आवश्यक सूचना, जानकारी र आफुलाई चाहिने आइडिया लिन सक्छन् ।

 

टेडबारे थप प्रस्ट पार्दै सर्राफ भन्छन्, ‘स्याप्लिंग फाउन्डेसन नामक संस्थाद्वारा सञ्चालित टेड गैरनाफामूलक संस्था हो । जसले युट्युबमार्फत निःशुल्क ज्ञान बाड्ने काम गर्दै आएको छ ।’ ऊर्जाशील र केही गर्न आतुर तर आइडियाको पर्खाइमा रहेका युवाले टेड ईभेन्ट छुटाउनै नहुने सर्राफको कथन छ ।

 

टेड आइडिया सेयरिङको प्लेटफर्म भएको बताउँदै सर्राफले थपे, ‘यहाँ आउने वक्ताले आइडिया आदानप्रदान गर्ने गर्छन् । टेडको मुख्य ट्यागलाईन नै ‘आइडियाज वर्थ स्प्रेडिंग’ हो । तसर्थ यस कार्यक्रममार्फत हामी बढीभन्दा बढी अइडिया बाँड्ने काम गर्छौं । यहाँ आउने व्यक्तिले केही न केही आइडिया लिएरै जान्छ ।’

 

कार्यक्रम आयोजनको लागि टिकट बेचेर पैसा संकलन गरिएको छ भने विभिन्न संघसंस्था र व्यवसायीले पनि कार्यक्रमलाई सहयोग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्