आलमलाई पाँच दिन म्याद थप



काठमाडौं : राजपुरमा बम विष्फोटको आरोपमा प्रहरी हिरासतमा रहेका नेपाली काङ्ग्रेसका नेता आफताव आलमलाई आज जिल्ला अदालतले अनुसन्धानका लागि पाँच दिन म्याद थप गर्ने आदेश दिएको छ ।

आलमलाई गत असोज २५ गते राजपुर गौरस्थित शेख इद्रिस गेटबाट प्रहरीले पक्राउ गरेको हो । यसअघि पनि अनुसन्धानका लागि आलमको सात दिन म्याद थप गरिएको थियो । जिल्ला अदालतका न्यायाधीश चाणकमणि अर्यालको एकल इजलासले उनलाई पाँच दिन थुनामा राखी अनुसन्धान गर्न म्याद थप गरेको हो ।

पक्राउ परेका आलममाथि कर्तव्य ज्यान मुद्दाअन्तर्गत अनुसन्धान जारी छ । थुनछेक बहसका लागि जिल्ला अदालत पुगेका आलमले आफूलाई षडयन्त्र गरी फसाएको आरोप लगाए । यसअघि जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा नचल्ने भन्दै गरेको निर्णयलाई महान्यायाधिवक्ताको कार्यालयले सदर गरेपछि मुद्दाको फाइल बन्द गरिएको थियो ।

महान्यायाधिवक्ताको कार्यालयको निर्णयलाई सर्वोच्चले बदर गरेको सात वर्षपछि प्रहरीले आलमलाई पक्राउ गरी अनुसन्धान थालेको हो । – रासस

प्रतिक्रिया दिनुहोस्