बजेट आएपछि खेल मैदान निर्माण थालियो



बेनी : म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटस्थित खेल मैदान निर्माण कार्य सुरु भएको छ । बजेट अभावका कारण गत वर्ष खेल मैदानको निर्माण कार्य स्थगित गरिएको थियो । 

चालू आर्थिक वर्षमा नगरपालिकाको पाँच लाख र वडा कार्यालयको दुई लाख गरी सात लाख रुपैयाँ बजेटमा खेल मैदान निर्माण कार्य सुरु गरिएको सरस्वती आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण कार्कीले बताए । 

उनका अनुसार गत वर्ष पाँच लाख ६० हजारको लागतमा मैदान सम्याउने र माथिल्लो भागमा ५० मिटर प्यारापिट निर्माण गरिएको थियो । एक सय चार मिटर लम्बाइ र ५२ मिटर चौडाइको खेल मैदान निर्माणका लागि नगरपालिका र वडाबाट प्राप्त बजेट पर्याप्त नरहेको कार्कीले बताए ।

उनका अनुसार बेनीको खुलामञ्च खेल मैदानको विकल्पका रूपमा हेरिएको बगरफाँटको खेल मैदान निर्माणका लागि बजेट अपुग हुने भएपछि गण्डकी प्रदेशकी सामाजिक विकासमन्त्री नरदेवी पुनलाई जानकारी गराइएको छ । मन्त्रीबाट सहयोग हुने आश्वासन पाए पनि बजेट प्राप्त भइनसकेको अध्यक्ष कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्