खानेकुरा खाँदा कसरी सर्किन्छ, उपचार के ?


खानेकुरा वा अन्य वस्तु श्वास नलीमा अड्किएर श्वासप्रश्वास अवरूद्ध हुनुलाई चोकिङ (सर्किने) भन्ने बुझिन्छ। चोकिङ हुँदा मानिसले श्वास फेर्न गाह्रो हुनुका साथै निस्सासिएको अनुभव गर्छ।

चोकिङको खासै अध्ययन नभए पनि वल्र्ड हेल्थ अर्गनाइजेसन (डब्ल्युएचओ) का अनुसार मृत्यु भएका बच्चाहरुमध्ये २ सय ३५ को अन्जानमा चोटपटकका कारण मृत्यु हुन्छ, त्यसमा चोकिङ पनि एक हो।

अमेरिकाको नेसनल सेफ्टी काउन्सिल, इन्जुरी फ्याक्ट २०१७ का अनुसार, अन्जानमा चोटपटकले हुने मृत्युमा चोकिङ चौथो नम्बरमा पर्छ। कतिपय चोकिङका बिरामीहरु स्वास्थ संस्थामा नगई समस्याको समाधान गर्ने हुनाले खास तथ्यांक अझ बढी हुनसक्छ।

विशेषगरी बुढाबुढीले गला लाग्यो भनेको धेरै सुन्ने गरिन्छ। गला लाग्नु र सर्किनुमा फरक छ। गला लाग्दा खानेकुरा भोजन नलीबाट आमासयमा पुग्न गाह्रो हुन्छ। खाना खाँदै गर्दा खोकी लागेमा वा हाच्छिउँ आएमा खाना खाने नलीको सट्टा श्वास नलीतिर गई चोकिङ हुन्छ, जुन घरायसी वातावरणमा धेरै हुने गर्छ। कहिलेकाहीं श्वासमार्गका मांसपेसीहरु खुम्चिनाले पनि सर्किने हुन्छ। गला लागेको स्थितिमा तरल पदार्थ पिएर खाना तल पुगे पनि चोकिङमा भने श्वासनलीमा नै चिजबिज अड्किने हुनाले तरल पदार्थ पिउँदा झन् फोक्सोतिर पुगेर जोखिमपूर्ण स्थिति सिर्जना हुन्छ।

चोकिङ साना बच्चा (५ वर्ष भन्दाकम) र बुढाबुढी (७५ वर्षभन्दा बढी) का लाई बढी हुन्छ। त्यसमा पनि एक वर्ष भित्रका शिशुलाई अझै बढी सर्किने डर हुन्छ। साना केटाकेटीले अन्जानमै जे पनि मुखमा हाल्न सक्छन् भने बुढाबुढीको उमेर सँगसँगै निल्ने ग्रन्थी पनि कमजोर भएको हुन्छ। साथै ¥याल उत्पादन घट्दै जान्छ र भोजन नली सुक्का भई खाना निल्न खोज्दा बीचमै अड्किन्छ। यद्यपि चोकिङ जुन उमेरका मानिसलाई पनि हुन सक्छ। तसर्थ यसबाट सबै सतर्क हुनुपर्छ।

अड्किनु शब्द सामान्य लाग्न सक्छ, तर श्वास नलीमा खानेकुरा वा अन्य वस्तुले पूरा रुपमा अवरोध गरेमा त्यसले श्वासनली हुँदै फोक्सोमा हावा जान बन्द गरिदिन्छ। त्यसको तुरुन्तै उपचार नभएमा घाइते रेस्पिरेटरी अरेस्टपछि कार्डियाक अरेस्टमा गई मृत्यु हुन्छ। बच्चामा प्रायः खाना, घरायसी चिज तथा खेलौना अड्किएर यस्तो समस्या आउँछ। विभिन्न रोगहरु जस्तैः पार्किन्सन, स्ट्रोक, ब्रेन ट्युमर, मायासथिनिया ग्रयाभिस, सेरेब्रल पाल्सी, मल्टिपल स्क्लेरोसिस, आकलेजिया, क्यान्सरको रेडियसन उपचार आदिका कारणले निल्ने ग्रन्थी साथै वरपरको भाग कमजोर भई, खाने नली सुन्निएर, घाउको दाग बस्दा नली साँघुरिएर डिस्फेजिया (निल्न गाह्रो हुने) हुँदा अड्किने समस्या आउन सक्छ, जसका लागि डाक्टरको परामर्श लिनुपर्छ।

श्वास मार्ग आंशिक रुपमा बन्द हुँदा घाइते बोल्न, श्वास फेर्न तथा खोक्न सक्छ तर पूर्ण रुपमा बन्द हुँदा,
– बोल्न, रुन र कराउन, साथै श्वास फेर्न सक्दैन।
– श्वास फेर्दा अनौठो आवाज तिखो घ्यारघ्यार आउँछ, स्वाँस्वाँ हुन्छ वा कुनै आवाजआउँदैन।
– एक्कासि कमजोर वा कडा खालको खोकी लाग्छ।
– अनुहारका साथै शरीरको रङ फिक्का, अध्याँरो र निलो देखिन्छ। ओठको रङ निलो हुँदै गएको हेरेर अक्सिजन नपुगेको सजिलै थाहा हुन्छ।
– घाइते छटपटिन्छ। एक वा दुवै हातले घाँटीमा क्रस गरी अघिल्तिर झुकेर औंलाहरुले घाँटीमा च्याप्प समातेको हुन्छ। यो नै चोकिङको विश्वव्यापी संकेत हो। यस्तो स्थितिमा श्वासप्रश्वास कम हुन्छ वा हुँदै हुँदैन।
– अन्त्यमा घाइते बेहोस भई लड्न सक्छ।

दिनहुँ चोकिङ भएर अस्पताल धाउनेको संख्या बढ्दो छ। कतिपय स्थितिमा प्राथमिक उपचार दिन नजानेर बिरामीको स्थिति झन् गम्भीर बनेको हुन्छ। त्यस्ता बिरामीलाई बचाउन झनै कठिन हुन्छ। नेपालमा बिरामी र स्वास्थ्यकर्मीको अनुपात धेरै भएकाले साथै भौगोलिक स्थितिका कारणले पनि समयमा बिरामी स्वास्थ्य संस्थासम्म पु¥याउन गाह्रो छ।
कुनै कारणबस सर्किएको वस्तु श्वासनली हुँदै फोक्सोमा पुगेमा एक्सरे, सिटी स्क्यान, ब्रोन्कोस्कोपी गरेर देख्न सकिन्छ। यदि अड्किएको वस्तु ब्रोन्कोस्कोपीबाट निकाल्न सम्भव नभए शल्यक्रिया गरेर निकाल्नुपर्ने हुन्छ।

कलिलो उमेरका विद्यार्थीले छिट्टै बुझ्ने र सिक्ने भएकाले यस्ता सीपहरु स्कूलमा सिकाउँदा सूचना प्रवाह छिटो र प्रभावकारी हुन्छ। साथै ग्रामीण तहमा तालिम दिँदा धेरैले सुविधा लिन सक्छन्। धेरैजसो घर बाहिर हुने यस्ता आपतकालीन स्थितिमा सुरक्षा निकाय (जस्तै नेपाली सेना, ट्राफिक प्रहरी), स्कुल शिक्षक, कर्मचारीलाई तालिम दिनु महत्वपूर्ण हुन्छ। विकट ठाउँहरुमा स्वास्थ्यकर्मीलाई यस्ता आधारभूत कुराको ज्ञान दिलाउनसके ठूलो संख्यामा घाइतेको उत्थान गर्न सकिन्छ।

चोकिङको रोकथामका लागि सबैभन्दा पहिले चोकिङबाट बच्ने तल प्रस्तुत गरिएका उपायबारे जनचेतना हुनु जरुरी हुन्छ :

– साना बच्चाहरु (५ वर्ष मुनिका) लाई एक्लै नछाड्ने। उनीहरुले मुखमा हाल्नसक्ने, अड्किने जस्ता सामग्री भेट्ने स्थानमा नराख्ने।

– खाना खाने बेला हाँस्न नदिने, बोल्दा होसियार हुने।

– बाबुआमालाई बच्चाको प्राथमिक सुरक्षा सम्बन्धित जानकारी दिन बच्चा जन्मने बित्तिकैदेखि सुरु गर्ने।

– खाना खाँदा सिधा बसेर राम्रोसँग चपाएर खाने, मासुका हड्डीहरुबाट जोगिने, खानेकुरा मुखमा राखेर दौडिने, खेल्ने, सुत्ने नगर्ने। सुतेर कहिल्यै नखाने।

– ३ वर्ष मुनिका बच्चालाई गाँजर, स्याउ जस्ता कडा खानेकुरा उसिनेर वा नरम बनाएर स–साना टुक्रा बनाएर दिने। कास्ठफल (नट्स), बिउहरु, गेडागुडी, बदाम, मकैको फुला, सिंगो अंगुर, क्यान्डी, चुइङ्गम, नदिने। घरायसी सामान ब्याट्री, कलमको बिर्को, सिक्का, टाँक, साथै टेनिस बल, फुटेका खेलौना, नफुकेको बेलुन, गुच्चा आदि टाढा राख्ने।

– खेलौना किन्दा बच्चाको उमेर अनुसार सुरक्षित छ/छैन हेर्ने।

– घरमा अर्को बच्चा ठूलो छ भने सचेत रहने। ठूला बच्चाहरु प्रायः राम्रोसँग मिलेर खेले पनि उनीहरुको उत्सुकताका कारण साना बच्चालाई अड्किने कुरा दिन सक्छन् वा अन्जानमा साना बच्चाले ठूलाको सामान चलाउन सक्छन्, जसले गर्दा अड्किने जोखिम बढ्छ।

– वयस्कहरुले मुखमा सुपारी साथै अन्य त्यस्ता चिज राखेर हाँस्ने, दौडिने, सुत्ने नगर्ने।

– जो कसैलाई पनि चोकिङका बेला तरल पदार्थ पिउन नदिने।

अमेरिकन हार्ट एसोसिएसनका अनुसार चोकिङको उपचार पद्धतिलाई ३ तरिकाले वर्णन गरिएको छ। एक वर्ष मुनिका शिशु र त्योभन्दा माथिकालाई गरिने पद्धति पूरै फरक छ। मोटो व्यक्ति तथा गर्भवती महिला, पेटको अप्रेसन गरेको वा कुनै कारणबस पेट थिच्न नहुने व्यक्तिलाई फरक तरिकाले गरिन्छ। यी प्रविधिहरु अत्यन्त सरल र प्रभावकारी छन्।

एक वर्ष मुनिका शिशुहरुमा चोकिङ हुँदा ५/५ को तरिका अपनाउनुपर्छ। मानौं, तपाईंले हेर्दाहेर्दै शिशुले सिंगो अंगुर अड्कायो र शिशु होसमै छ भने,

– शिशुलाई एक हातको पाखुरामा टाउको तल, छाती र शरीर माथि पर्नेगरी शिशुको चिउँडोमा समातेर टाउको धान्ने ताकी लड्नबाट बचाउन सकियोस्।

– कुर्सीमा बस्न सम्भभ भए ५÷५ को तरिका अपनाउन सजिलो हुन्छ, नभए एउटा खुट्टा घँंडा टेकेर अर्को फिलामा आफ्नो पाखुरा अड्याउन सकिन्छ।

– अर्को हातको हत्केलाले प्रत्येक सेकेन्ड शिशुको दुई काँधका पाताका बीचमा धाप दिने। यसरी धाप दिँदा तलतिर (घाँटीतिर) चाप पर्नेगरी दिने जसले अड्किएको कुरा निस्कन सजिलो हुन्छ।

– यदि ५ पटक धाप दिँदा अड्किएको वस्तु निस्केन भने शिशुलाई दुई पाखुराको बीचमा पारेर फर्काउने, शिशुको टाउकोको पछाडिको भाग एक हातले समात्ने र तपाईंको पाखुरामा उत्तानो पारेर दुवै खुट्टा पाखुराका दुईतिर झर्नेगरी सुताउने। यतिबेला पनि शरीरभन्दा टाउको तल हुनुपर्छ।

– छातीको बीचमा सिपीआर दिए जस्तैगरी चोर औंला र माझी औंलाका टुप्पाले अड्किएको वस्तु दबाबले तलतिर जानेगरी ५ पटक थिच्ने।

– यो प्रक्रिया ५ पटक छातीमा र ५ पटक ढाडमा चाप दिंदै अड्किएको वस्तु ननिस्किने बेलासम्म वा शिशु बेहोस नहुने बेलासम्म गर्ने।

एक वर्ष माथिका जोकोही व्यक्तिलाई चोकिङ भएको देख्नुभयो वा शंका लाग्यो भने,

– घाँटीमा केही अड्कियो ? भनेर सोध्ने। यस्ता मानिसहरु बोल्न असमर्थ हुनसक्ने भएकाले टाउको तलमाथि हल्लाएर प्रतिक्रिया दिन सक्छन्। म तपाईंलाई सहयोग गरूँ ? के गर्ने मलाई थाहा छ, नआत्तिनुहोस् भनेर भरोसा दिलाउने।

– यदि घाइतेले खोक्न सक्छ भने बेस्सरी खोक्न प्रोत्साहन गर्ने। खोकीको बीचमा अलिअलि श्वासप्रश्वास भएको छ भने श्वासनली आंशिक रुपमा अवरुद्ध भएको हुन सक्छ, निरन्तर घाइतेको स्थिति हेरिरहने।

– खोक्दा अड्किएको वस्तु निस्केन भने, खोक्दा जस्तै हरेक पटक पेटमा र छातीमा थिचेको दबाबले उक्त वस्तु बाहिर निस्कन सक्छ। यसलाई एब्डोमिनल थ्रस (हाइमलिक मेनोभर) भनिन्छ।

– एब्डोमिनल थ्रसको लागि तपाईं घाइतेको पछाडि उभिने वा घाइते सानो भए घुँडा टेक्ने। घाइतेलाई अघिल्तिर निहुरिन लगाउने।

– घाइतेको काखी मुनिबाट दुवै हात घुसारी कम्मरको वरिपरि दुवै हातले बेरेर, एक हात मुठी पारी बुढी औंलापट्टिको सम्म भागलाई नाभीको २ इन्च माथि, छातीको हड्डीभन्दा तल राख्ने। अब अर्को हातले पहिलो हातको मुट्ठीलाई पूरा छोप्ने।

– दुवै हातको पूरा दबाब लगाएर पेटमा माथितिर जोडले तान्दै धक्का दिने। एब्डोमिनल थ्रस अड्किएको वस्तु ननिस्किने बेलासम्म वा घाइते चल्ने, बोल्ने, श्वास फेर्ने नगर्दासम्म गरिरहने। हरेक थ्रस दिंदा छुट्टै चाल सिर्जना हुनेगरी दिने, जसले अड्किएको वस्तु निस्कन मद्दत गर्छ। मोटो व्यक्ति, गर्भवती महिला, एवं पेटको अपरेसन वा अन्य कारणले एब्डोमिनल थ्रस दिन सम्भव नभए चेस्ट थ्रस दिने। यसको लागि तपाईंको दुई हात घाइतेको काखी मुनिबाट घुसारी छातीलाई बेर्ने। तपाईं घाइतेको पछाडि उभिई दुवै हातको पूरा चाप लगाएर छातीलाई सिधा पछाडि तान्ने। यसले श्वासनलीमा अड्किएको वस्तु पेटको बच्चालाई वा अन्य कुरालाई असर नगरी बाहिर निकाल्न सकिन्छ।

२०१७ मा मेवो क्लिनिक स्टाफका अनुसार, यो एब्डोमिनल र चेस्ट थ्रस अर्को व्यक्तिले दिंदा जस्तो प्रभावकारी नभए पनि केही हदसम्म आफूले आफूलाई नै मद्दत गर्न सकिन्छ। यसको लागि सारो कुर्सी वा अन्य वस्तुको आड लिएर छाती वा पेट सारो भागमा पारी दुवै हात प्रयोग गरेर आफैँ एब्डोमिनल वा चेस्ट थ्रस दिने। बच्चाको श्वासनली सानो हुने हुनाले चोकिङ हुँदा प्रायः आपतकालीन स्थिति नै आउन सक्छ।
कहिलेकाहीँ चोकिङका घाइतेहरु सुरुमै बेहोस हुन पनि सक्छन्।

यस्तो परिस्थितिमा अड्किएको थाहा नहुन सक्छ। त्यसैले सहयोग माग्न, एम्बुलेन्स फोन गर्न र कार्डियोपल्मोनरी रिसससिटेसन (सिपिआर) सुरु गर्न ढिला गर्नुहुँदैन। जब अड्किएर घाइते बेहोस हुन्छ, स्वरयन्त्र वरिपरिको मासु खुकुलो हुन्छ। जसले गर्दा श्वासको गम्भीर रोकावट पनि आंशिकमा जान सक्छ।

अर्कातिर, एब्डोमिनल थ्रस जस्तै सिपिआरको क्रममा छाती थिच्दा पनि चापले अड्किएको वस्तु बाहिर निस्कन सक्छ। श्वास दिँदा छाती सजिलै माथि उठ्यो भने थाहा हुन्छ कि, श्वासनली खुला भयो।

माथि उल्लेख गरिएका सबै चोकिङका घाइतेहरु बेहोस भएमा र निलो देखिन थालेमा मुटुको धड्कन जाँच्नपट्टि नलागी तुरुन्त भुइँमा झारेर प्रतिमिनेट १०० देखि १२० का दरले छातीको बीच भागमा थिच्नुहोस्। हरेक ३० पटक छाती थिचेपछि सम्भव भए २ पटक कृत्रिम श्वास दिनुहोस्। चोकिङमा सिपिआर दिँदा अतिरिक्त चरण भनेको हरेक पटक कृत्रिम श्वास दिनुअघि घाँटीमा अड्किएको चिज सहजै सकिन्छ भने निकाल्ने, तर औंला राख्नपट्टि नलाग्ने, जसले अड्किएको चिज झन् तल जान सक्छ। साथमा फोन र अरु कोही छैन भने दुई मिनेटजति सिपिआर दिएर सहयोग खोज्न वा एम्बुलेन्सलाई फोन गर्न जाने।

यस्ता प्राथमिक उपचार हरेक व्यक्तिले जान्नु महत्वपूर्ण हुन्छ। चोकिङमा ५/५ को तरिका एवं एब्डोमिनल र चेस्ट थ्रस दिएका व्यक्तिलाई जतिसक्दो छिटो स्वास्थ्यकर्मीलाई देखाउनु जरुरी हुन्छ।

स्वास्थ्य खबरपत्रिकाबाट
शान्ता पौडेल सुवेदी (सुवेदी अमेरिकन हार्ट एसोसिएसनकी प्रशिक्षक हुन्)

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

जनकपुर : कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय जनकपुरका शाखा प्रबन्धक र वरिष्ठ सहायकलाई स्रोत

काठमाडौं : नेपाल भ्रमणमा रहेका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग नोपली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले

काठमाडौं : लोकसेवा आयोगले विभिन्न तहका लागि अधिकृत पदमा दरखास्त आह्वान गरेको छ । आयायोगले

मुम्बई : भारतको महाराष्ट्र राज्यमा राष्ट्रपति शासन लगाउनका लागि राज्यपाल भगतसिंह कोश्यारीले दिल्लीलाई सिफारिस गरेका

यादवराज खनाल, पूर्व एसएसपीकाठमाडौं : धेरैपछि हिजो प्रहरी प्रधान कर्यालय भित्र छिरे, प्रहरी महानिरीक्षक सर्वेन्द्र

काठमाडौं : संघीय संरचनाअनुसार भर्खरै निर्मित प्रदेश सरकारका मन्त्रीहरु छोटो समयमै निकै चर्चामा आइरहेका छन्

काठमाडौं : नेपाल प्रहरीले दुई किलोग्राम चाँदीसहित भुटानी नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी

काठमाडौं : हत्याको अभियोगमा १७ वर्ष अघिदेखि फरार रहेका दुईजना अभियुक्तलाई साँखु प्रहरीले पक्राउ गरेको

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले भारतले हालै सार्वजनिक

काठमाडौं : नेपाली भूमी कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले अतिक्रमण गरेको विषयमा नेपालमा चर्को विरोध

काठमाडौं : नेपाली सेनाका एक प्राविधिक सेनानी समयमा कार्यालयमा हाजिर नहुँदा कारबाहीमा परेका छन् ।

काभ्रे : बनेपाबाट भकुण्डेबेसीतर्फ जाँदै गरेको बस सोमबार दुर्घटना हुँदा २५ जना यात्रु घाइते भएका