डडेल्धुरामा धुँवाले निसास्सिएर छोराको मृत्यु, आमा गम्भीर



डडेल्धुरा : डडेल्धुरामा आगोको धुँवाले निसास्सिएर एकजनाको मृत्यु भएको छ । बैतडीको मेलैली नगरपालिका-२ घर भइ डडेल्धुरामा बस्ने अन्दाजी १३ वर्षीय विनोद भट्टको बुधबार राति निसास्सिएर मुत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

 

अमरगढी नगरपालिका-५ पेन्सीएया एकेडेमीमा केयरटेकरको रुपमा कार्यरत विनोदकी आमा हिरा भट्ट पनि गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । हिरालाई बिहीबार बिहान उपक्षेत्रीय अस्पताल डडेल्धुराले उपचारका लागि धनगढी रेफर गरेको छ ।

 

जाडोका कारण कडाईमा आगोका कोइलाहरु राखेर ढोका थुनी कोठामा सुतेका आमाछोरा बिहीबार बिहान बेहोस अवस्थामा फेला परेका थिए ।उनीहरुलाई उपक्षेत्रीय अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्‍याउने वित्तिकै विनोदलाई अस्पतालले मृत घोषणा गरेको हो । 

 

उनको अस्पताल ल्याउनभन्दा करिब ६ घण्टा पहिले नै मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।विनोद डडेल्धुरा सदमुकाम नजिकै रहेको बैजनाथ मावि मौरोडामा कक्षा-६ मा अध्ययनरत विद्यार्थी हुन् । उनका बुबा कामको सिलसिला विदेशमा छन् ।

प्रतिक्रिया दिनुहोस्