कास्की,भक्तपुर, दाङ र बागलुङमा यस्तो छ उम्मेदवारहरुको चर्चा



काठमाडौ : निर्वाचन आयोगले रिक्त प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको लागि कार्यतालिका सार्वजनिक गरेसँगै १४ मंसिरमा हुने उपनिर्वाचनका लागि उम्मेदवारहरूको
दौडधुप शुरु भएको छ भने दलहरु उम्मेदवार छान्ने गृहकार्यमा जुट्न लागेका छन् ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)माथि यी चुनाव जित्नैपर्ने दबाब छ भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यो निर्वाचनलाई जीवनमरणको विषय बनाउदै विजयी बन्ने बताउदै आएको छ । नेपाली कांग्रेसले यो निर्वाचनमा विजयी बनेर सत्तारुढ दल र सरकार अलोकप्रिय भएको सन्देश दिन चाहन्छ ।

यद्यपी अहिलेसम्म कुनै पनि दलले आफ्ना उम्मेदवारहरु घोषणा गरिसकेका छैनन् । तत्कालिन पर्यटनमन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परी निधन भएपछि कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पद रिक्त छ । यस्तै भक्तपुर,दाङ र बागलुङमा प्रदेशसभा सदस्यका तीन पद रिक्त हुन पुगेका छन् ।

प्रदेश सभा बाग्लुङ क्षेत्र नम्बर २ ‘ख’बाट विजयी टेकबहादुर घर्तीको कलेजोसम्बन्धी रोगबाट मृत्यु भएपछि उक्त क्षेत्र रिक्त भएको थियो । त्यस्तै, दाङ क्षेत्र नम्बर ३ ‘ख’ निर्वाचित उत्तरकुमार ओलीको दाङमै सडक दुर्घटनामा मृत्यु भएको थियो । भक्तपुर क्षेत्र नम्बर एक ‘ख’बाट निर्वाचित हरिशरण लामिछानेको मष्तिकघातबाट मृत्यु भएको थियो । घर्ती राष्ट्रिय जनमोर्चाबाट निर्वाचित भएका थिए भने ओली र लामिछाने तत्कालीन एमालेबाट चुनिएका थिए ।

कास्की क्षेत्र नम्बर २ मा अधिकारी पत्नी विद्या भट्टराई नेकपाले उम्मेदवारका रुपमा अघि सार्ने संभावना प्रवल रहेको छ । त्यसो त नेकपाबाट कास्कीमा उम्मेदवारका आकांक्षा सोमनाथ प्यासी, तुलबहादुर गुरुङ, रश्मि आचार्यसमेत छन् ।नेपाली कांग्रेसबाट देवराज चालिसे, वीरेन्द्रनारायण बिजुक्छे, सोभियतबहादुर अधिकारी, धनराज गुरुङ, खेमराज पौडेलले दाबी प्रस्त्ुुत गरिरहेका छन् । प्रदेश सभा

त्यसैगरी उत्तरकुमार ओलीको निधनपछि रिक्त भएको दाङमा उनकी श्रीमति विमला ओलीलाई टिकट दिने चर्चा छ । विमलासँगै नेकपाभित्र सोभाराम बस्नेतले पनि आफ्नो दाबी गरेका छन् । त्यस्तैकांग्रेसबाट बुद्धिराम भण्डारी, शंकर डाँगी, सुरेश हमाल, केशव आचार्य र जगत खड्काको नाम चर्चामा छन् ।

त्यसैगरी भक्तपुरमा नेकपाबाट डिपी ढकाल, रामबहादुर श्रेष्ठ, मोहनवीर श्रेष्ठ, शम्भु दाहाल, रमेश बुढाथोकीले उम्मेदवार बन्न लविङ शुरु गरेका छन् । कांग्रेसभित्र यादव अधिकारी, कृष्णलाल भडेल, विनोदप्रकाश कायस्थ, जनक खत्री, सुभद्रा काफ्लेको चर्चा छ । नेमकिपाबाट उम्मेदवारको चर्चा शुरु भएको देखिदैन ।

उता, बागलुङमा नेकपाबाट तुलसी आचार्य, मोहनलाल शर्मा, शेरमान घर्ती, टंक पौडेल र केशर घर्ती आकांक्षी देखिएका छन् । जनमोर्चाबाट गौरीश्वर पाण्डे र धर्मबहादुर कुँवरको चर्चा छ भने कांग्रेसबाट जितबहादुर शेरचन, टेकराज पौडेल र दोर्णबहादुर कुँवर दाबेदारका रुपमा देखा परेका छन् ।
यसैबीच निर्वाचन आयोगले एक संघीय निर्वाचन क्षेत्र र तीन प्रदेश सभा निर्वाचन क्षेत्रका लागि २१ कात्तिक बिहान १० देखि १ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ । दिउँसो साढे १ देखि ३ बजेसम्म मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, २२ गते उम्मेदवारको विरोधमा उजुरी दिने तालिका तोकेको छ ।

आयोगले २३ गते बिहान ११ देखि अपराह्न ५ बजेसम्म मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गर्ने र सोही दिन मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गर्नेछ । २४ गते नाम फिर्ता लिने, २५ गते नै अन्तिम नामावली प्रकाशन गर्ने तालिका तोकिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए । २५ कात्तिकमा उम्मेदवारलाई निर्वाचन चिह्न दिइनेछ ।

प्रतिक्रिया दिनुहोस्