काठमाडौं महानगर : १४५० किमि सडक, जेब्रा क्रसिङ जम्मा सय



काठमाडौँ : काठमाडौँ महानगरपालिकाले स्मार्ट जेब्रा क्रसिङ निर्माणको तयारी गरेको छ । अहिले कामपामा करिब सय स्थानमा मात्रै जेब्रा क्रसिङ छन् । परम्परागत ती जेब्रा क्रसिङ आवश्यकताभन्दा धेरै कम हुन् । तीमध्ये कतिपय मेटिइसकेका छन् । त्यसैले यात्रुको अत्यधिक चाप हुने स्थानमा कामपाले स्मार्ट जेब्रा क्रसिङ निर्माणको तयारी गरेको हो । 

कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले अब निर्माण हुने सबै जेब्रा क्रसिङ स्मार्ट बन्ने बताए । सडक विभागसँग सहकार्य गरी मानिसको आवागमन बढी हुने स्थानमा काम अघि बढाइने उनले जानकारी दिए । 

उनका अनुसार नयाँ निर्माण गरिने जेब्रा क्रसिङ आधुनिक किसिमको हुनेछ र दुवैतर्फबाट आउने गाडी १० मिटरअघि नै आफैँ रोकिने प्रविधिसहितको हुनेछ । मानिस आएपछि ट्राफिक प्रहरीले हात हल्लाएर, सिट्ठी बजाएर रोकिराख्नु पर्दैन, प्रविधिले नै रोक्छ । 

नयाँ निर्माणको कामसँगै यसअघि निर्माण भएका जेब्रा क्रसिङलाई रातको समयमा पनि स्पष्ट रुपमा देखिने गरी मर्मत गरिने कामपाले जनाएको छ । कामपाले चालू आव २०७५÷७६ का लागि १३ अर्ब दुई करोड १२ लाख ३७ हजारको बजेट प्रस्तुत गरेको थियो । जसअन्तर्गत भौतिक पूर्वाधार निर्माण गर्न चार अर्ब छ करोड बजेट विनियोजन गरिएको छ । यसको बढीजसो अंश महानगरभित्रका सडक विस्तार र मर्मतमा खर्च गरिनेछ । 

कामपाभित्र एक हजार ४ सय ५० किलोमिटर पक्की सडक छ । कामपालाई आठ मिटरभन्दा कम चौडाइका सडक मात्र मर्मतसम्भार गर्ने अधिकार छ । त्यसभन्दा माथिका सडकमा काम गर्न सडक विभागसँग सहकार्य गरेर काम गर्नुपर्छ । कामपाभित्र आठ मिटरभन्दा कम चौडाइको सडक ९ सय ५० किलोमिटर छ । कामपाभित्र ६२ मिटर चौडाइका सडकसमेत छन् ।

प्रतिक्रिया दिनुहोस्