विद्युत् चोरीको नौलो प्रयोग



नेपाल विद्युत प्राधिकरण धनुषा शाखाले उपभाेक्ताकाे घरबाट फेला पारेकाे बिगारिएकाे मिटर

जनकपुरधाम : तराईका जिल्लामा विद्युत् चुहावट तुलनात्मक हिसाबले बढी नै छ । बिजुली चोरेको आरोपमा बेलाबेलामा प्रहरी र स्थानीयबीच झडपसमेत हुने गरेको छ । पछिल्लो समय जिल्लामा विद्युत् चोरीको नौलो तरिका प्रहरीले फेला पारेको छ । 

 

घर, कलकारखाना र उद्योगलगायत स्थानमा जडान गरिएका विद्युत् मिटरमाथि लागेको सिसामा प्वाल पारेर उपभोक्ताले विद्युत् चुहावट गर्दै आएका तथ्य खुलेको छ ।

 

विद्युत प्राधिकरण जनकपुर वितरण केन्द्र प्रमुख सूर्यनारायण मण्डलका अनुसार जिल्लामा ग्रामीण र सहरी दुवै ठाउँमा यस्ता काम भइरहेका छन् । मिटर बाइपासको शैली र तरिका फरक पार्नु, मिटर घुम्ने गतिलाई निकै कम गर्नु आदि विद्य्त् चुहावटका तरिका हुँदै आएका छन् ।  

 

खासगरी जनकपुरधामलगायत स्थानका चिरान, कुटानीपिसानी मिल र घरमै जडान गरिएको मिटरमा यस्तो देखिएको छ । प्राधिकरणले यस वर्ष जिल्लामा यस्ता तीन दर्जन मिटर फेला पारेको छ । मिटर बिगारेको फेला परेपछि प्राधिकरणले मिटर चेकको अभियानै थालेको छ । 

प्रतिक्रिया दिनुहोस्