मुख्यमन्त्रीले भने : मुलुक कमजोर बनाउने खेल भइरहेको छ



     नेपाल पत्रकार महासंघको राष्ट्रिय सम्मेलनलाई बिहीबार विराटनगरमा सम्बोधन गर्दै प्रदेश १ का मुख्य मन्त्री शेरधन राई । 

 

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मुलुकलाई कमजोर बनाउने खेल भइरहेको दाबी गर्दै त्यसतर्फ सचेत रहन आग्रह गरेका छन् । 

राईले राष्ट्रियताका हरेक सबल पक्षलाई प्रहार गर्ने र विभिन्न हिसाबबाट आक्रमण गर्दै मुलुकलाई कमजोर बनाउने खेल भइरहेको दाबी गरे । ‘विकास र समृद्धिको यात्रामा अघि बढ्न नदिन विभिन्न प्रयास भइरहेका छन्,’ उनले भने, ‘कतिपय सञ्चारगृहहरुले पनि त्यही हिसाबको भूमिका निर्वाह गरिरहेको देखेका छौं ।’ विभिन्न ठाउँबाट भइरहेका प्रहारका बारेमा राम्रोसँग हेक्का राख्ने काम भइरहेको बताउँदै उनले त्यसबाट जोगाउँदै मुलुकलाई समृद्ध बनाइछाड्ने अठोट व्यक्त गरे । 

नेपाल पत्रकार महासंघको राष्ट्रिय सम्मेलनलाई बिहीबार विराटनगरमा सम्बोधन गर्दै मुख्यमन्त्री राईले मुलुकलाई जोगाउने र संरक्षण गर्दै अघि बढाउने दायित्व सबैको भएको बताए । सिंगो सञ्चार जगतलाई मुलुक निर्माणको अभियानमा एक ढिक्का भएर लाग्न उनले आग्रह गरे । 

पेसागत हकहित र मर्यादालाई ख्याल गर्दै मुलुक निर्माणमा सञ्चार जगत एक भएर लाग्नुपर्ने उनको सुझाव छ । ‘संविधान र संघीयता कार्यान्वयन गर्नैपर्ने दायित्व हामीमाझ छ,’ उनले भने, ‘विभिन्न कालखण्डमा गरिएका त्याग र बलिदानको कदर गर्दै मुलुकले प्राप्त गरेका सबै उपलब्धिको संरक्षण पनि गर्नुपर्ने अवस्था छ ।’

उनले देश बनाउने र युग परिवर्तन गर्ने महाअभियानमा जुट्नुपर्ने भएकाले निदाएर बस्ने सुविधा संघीय, प्रदेश र स्थानीय सरकार कसैलाई पनि नभएको बताए ।

 

पूर्वसञ्चारमन्त्री समेत रहेका राईले अन्य प्रदेश सरकारलाई अप्रत्यक्षरुपमा दबाब सिर्जना गर्ने हिसाबको काम प्रदेश १ सरकारले गरेर देखाउने प्रतिबद्धता जनाए ।

‘विभिन्न नाममा बाटो बिराउन र फस्न खोजिरहेको नेपाली समाजलाई सही ट्र्याकमा ल्याउने काम यसअघिसम्म गरियो,’ उनले भने, ‘अब मुलुकका लागि विशिष्ट योगदान गर्न विभिन्न भूमिका खेल्नुपर्ने बेला आएको छ ।’ उनले समृद्ध नेपाल र सुखी नेपालीको अभियानमा सहयोग पुर्याउँदा त्यसले सञ्चार जगतलाई पनि राम्रो प्रतिफल प्राप्त हुने बताए । 

समाजमा पछिल्लो समयमा नराम्रोे सोच विकास भइरहको टिप्पणी गर्दै राईले त्यस्ता सोच हावी हुन नदिन सत्य र निर्णायक विषयमा सञ्चार जगतले भूमिका खेल्नुपर्नेमा जोड दिए । राईले पत्रकारिताको विकास एवं सञ्चारकर्मीको संरक्षणमा राज्य जिम्मेवार रहेको बताए । 

कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले सञ्चार क्षेत्रले आलोचना गर्नै नपर्ने गरी अहिलेको सरकारले काम गरेर देखाउने बताए । ‘हामी गल्ती र कमजोरी गर्दैनौं,’ उनले भने, ‘नराम्रो काम कहीं कतैबाट भयो भने प्रमाणसहित ल्याउनुहोस्, हामी सच्चिन तयार छौं ।’

 

प्रतिक्रिया दिनुहोस्