तालिवानी आक्रमणमा दुई प्रहरी अधिकृतको ज्यान गयो



पुल–ए–खुम्री (अफगानिस्तान) : अफगानिस्तानको उत्तरी प्रान्त बाघलानमा तालिवान लडाकुको आक्रमणबाट बिहीबार राति दुईजना प्रहरी अधिकारीको मृत्यु भएको छ । 

बाघलान प्रान्तको दहाना जिल्लाका स्थानीय प्रहरी (एएलपी) कमान्डर सलिम कोची र अर्का प्रहरी अधिकृतको हत्या भएको प्रान्तीय प्रहरी प्रमुख अक्रमुद्दिन सारेहले बताए । विद्रोहीले उनीहरु चढेको मोटरमा घेरा हाली आक्रमण गरेको समाचार एजेन्सीले जनाएको छ ।

 

जमान खिल भन्ने स्थानमा भएको विद्रोहीको आक्रमणबाट प्रहरीका धेरैवटा सवारीसाधनमा समेत क्षति पुगेको छ । उक्त स्थान प्रान्तीय राजधानी पुल–ए–खुम्रीको बाहिरी इलाका हो । 

 

जवाफी फायरिङबाट विद्रोही लडाकु पनि मारिएको र घाइते भएको प्रहरीले जनाएको छ । आक्रमणको जिम्मेवारी तालिवान लडाकू समूहले लिएको छ । 

 

अफगानिस्तानमा सन् २०१४ को अन्त्यमा अमेरिकाआबद्ध नेटो सेनाले अफगान युद्ध सकिएको घोषणा गरेयता विद्रोहीको आक्रमण तीव्र भएको छ । युद्धबाट अफगान सैनिक हताहत हुने क्रम बढेको छ । 

 

अफगानिस्तानमा दिनदिनै शान्तिसुरक्षाको स्थिति बिग्रिएपछि युद्धरत विद्रोहीलाई वार्तामा ल्याउन प्रयास थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्