टिकटकले तताएको बजार



काठमाडौं : टिकटक् … । सायद पछिल्लो समय टिकटक् एप थाह नपाउने मानिस कमै छन् होला । युवाको त कुरै छाडौं, बच्चा र पाका उमेरका पनि टिकटक्मा झुम्मिएका छन् । हिजोआज यस्ता टिकटक् सामाजिक साइटहरूमा थुप्रै देख्न पाइन्छ । टिकटक् रमाइला त हुन्छन् नै, साथै कलात्मक पनि । जुन भिडियो हेर्दा अन्य साथीभाइ, आफन्तलाई पनि रमाइलो लाग्छ । यतिबेला विश्वभर यो एप सर्वाधिक लोकप्रिय छ । यो विश्वभर आफ्नो देशको गीतसंगीतका प्रचारप्रसार गर्ने राम्रो माध्यम पनि बनिरहेको छ भने यसले धेरैलाई सेलिब्रेटी नै बनाइदिएको छ । आफ्नो कला प्रस्तुत गर्ने राम्रो माध्यम बनिरहेको टिकटक्को लोकप्रियता नेपालमा पनि उत्तिकै छ । जहाँ कतिपय प्रयोगकर्ताहरु सेलिब्रेटी नै बनेका छन् । कुनै कुराको सही सदुपयोग गरे फाइदा, गलत प्रयोग गरे बेफाइदा हुन्छ नै । त्यस्तै टिकटक्ले बानी बिगार्न पनि सक्छ साथै केही सिकाउन पनि ।

के हो टिकटक् ?

टिकटक् एक लोकप्रिय सोसल मिडिया एप्लिकेसन हो । यसको माध्यमबाट स्मार्टफोन प्रयोगकर्ताले १५ सेकेण्ड सम्मका भिडियो बनाएर पोष्ट गर्न सक्छन् । जहाँ जस्तो भिडियो राखे पनि हुन्छ । के बोल्ने, के गाउने, कसरी नाच्ने सबै प्रयोगकर्ताको रोजाइमा भर पर्छ । बच्चादेखि वृद्धसम्म, स्कुलदेखि बिहेको मण्डपसम्म जताततै यसको क्रेज छ । टिकटक्को क्रेज देख्दा लाग्छ, कोही छैन सामाजिक सञ्जाल नचलाउने । सुरुमा यो ‘म्युजिकल्ली’ का रुपमा प्रयोगमा आए पनि चिनियाँ कम्पनीसँगको सहकार्यपछि यसले ‘टिकटक्’ को स्वरुप धारण गर्यो । अहिले नेपाली चलचित्र निर्माताले टिकटक्का प्रयोगकर्तालाई लक्षित गर्दै आफ्नो चलचित्रको प्रचार–प्रसार गर्न थालिसकेका छन् ।

टिकटक्ले बनाएका सेलीब्रेटीहरु

१. दुई वर्षीया शैलिन श्रेष्ठ

सामाजिक संजालदेखि टिकटक्सम्म हिट भएकी २ वर्षिया बालिकाको नाम हो–‘शैलिन’ श्रेष्ठ । उनको परिवारमा आमा तामाङ् हुन् भने बाबा श्रेष्ठ । शैलिन स्कुल भर्ना भएकी छैनन् । अढाई वर्ष पुगेपछि मात्र भर्ना गर्ने आमाबाबुको सोच छ । स्कुल जानुअगावै शैलिनले धेरै कुरा जानेकी बुबा सन्जित बताउँछन् । दुई वर्षकी शैलिनले म्युजिक भिडियो समेत खेलेकी छिन् ।

रेश्मा घिमिरे

विराटनगरकी रेश्मा घिमिरे न त चर्चित मोडल हुन्, न त चल्तीकी नायिका । एउटा फिल्ममा अभिनय त गरेकी थिइन् तर उक्त फिल्मले उनलाई कहीं पनि चिनाएन । टिकटकमा उदाएपछि त रेश्मा बाटोमा हिँड्दा सेल्फी लिन भ्याइनभ्याई हुने गरेको छ । पेसाले नर्स रेश्मालाई सेलीब्रेटी बनाउने श्रेय जान्छ, ‘टिकटक्’ लाई । डेब्यु चलचित्रमा असफलताको स्वाद चाखेकी रेश्मा पछिल्लो समय निकै चर्चामा रहेकी छिन् । रेश्मा पछिल्लो समय म्युजिक भिडियो सुटमा निकै व्यस्त रहेकी छिन् । आरके चिल्ड्रेन्स हस्पिटलमा कार्यरत नर्स रेश्माले जब भिडियो बनाएर टिकटकमा अपलोड गर्न थालिन्, उनका प्रशंसकहरू बढ्दै गए । रेश्माले विभिन्न गीत, संगीत, म्युजिक भिडियो, समसामयिक विषय तथा चलचित्रका डाइलगमा आफूले अभिनय गरेका भिडियो टिकटक्मा अपलोड गर्दै आएकी छिन् ।

‘टिकटक् क्वीन’

टिकटक्ले आम मान्छेभित्र लुकेर बसेको अभिनय कलालाई प्रस्फुटन गराइरहेको छ । यसैले सेलिब्रेटी उत्पादन गरिरहेको छ । प्रिन्सी र प्रिज्मा खतिवडा टिकटक्ले ‘स्टार’ बनाएका जुम्ल्याहा दिदीबहिनी हुन् । अहिले टिकटक्मा उनीहरु ‘ट्वीन गल्र्स’ का रुपमा चर्चित छन् । आधा करोडभन्दा बढी उनीहरुका फ्यान र फलोअर्स छन् । टिकटक्ले दिलाएको अप्रत्यासित चर्चाबाट दुवै अहिले दंग छन् । टिकटक्कै क्रेजका कारण आज ‘ट्वीन गल्र्स’ म्युजिक भिडियोमा छाइरहेका छन् ।

मन्जिल बस्नेत

नेपालमा मात्र हैन, विदेशमा पनि टिकटक्बाटै सेलिब्रेटी बनिरहेका छन् । टिकटक्बाट सेलिब्रेटी बनेका अर्का व्यक्ति हुन्, मन्जिल बस्नेत । ‘घाममा सुकाइदेऊ’, ‘लभ लेटर’, ‘तरकारी’ लगायत बोलको गीतमा उनले अभिनय गरिसकेका छन् ।

अमिता गुरुङ

१७ वर्षकै उमेरमा अमिता गुरुङलाई टिकटक्ले सेलीब्रेटी बनाइसकेको छ । डान्स, गायनलगायत सबैतिर पर्फेक्ट छिन् उनी । पछिल्लो समय उनी ‘टिकटक्वाली’को रुपमा बढी परिचित छिन् । कमेडी फ्लेवरको टिकटक्मा रमाउने उनी पोखरामा बस्छिन् । उनलाई अफरका रुपमा अवसरहरु आउने गरेका छन् । कक्षा १२ को अध्ययन पूरा नगरेसम्म त्यतातिर लाग्ने योजना छैन उनको । धेरै अफर आएपछि सन्तोष लामाको गीत ‘मंसीर भन…’ मा भने अभिनय गर्न भ्याएकी छिन् ।

हिमांशु कार्की

केटी मात्र हैन, केटा पनि टिकटक्कै कारण सेलिब्रेटी बनेका छन् । हिमांशु कार्कीले लोक तथा आधुनिक गीतको समिश्रण ‘ज्यानमाया’ मा डान्सिङ प्याटर्नको गीतमा म्युजिक भिडियो खेलेका छन् । त्यसैगरी उनको अर्को म्युजिक भिडियो ‘मेरी पुजा’ सार्वजनिक हुन बाँकी छ ।

जुम्ल्याहा दिदीबहिनी दीपा र दमन्ता

जुम्ल्याहा दीपा र दमन्ता श्रेष्ठलाई कुन दिदी र कुन बहिनी छुट्याउनै गाह्रो हुन्छ । उनीहरु दुवै टिकटक्बाट सेलिब्रेटी बनेका छन् । उनीहरुलगायत धेरै जुम्ल्याहा दिदीबहिनी टिकटक्मा भाइरल भएका छन् । श्रेष्ठ दिदीबहिनी हाल म्युजिक भिडियोमा व्यस्त छन् । उनीहरुको पहिलो म्युजिक भिडियो बिन्दास झकास भएपछि हाम्रो माया जिन्दावाद, अमिलो निबुआ, कसरी कसरी–२ लगायतका म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् ।

जुम्ल्याहा दाजुभाइ

टिकटक्बाट भाइरल भएका जुम्ल्याहा अमर र अमित दाहालले म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । टिकटक्बाटै सेलिब्रेटी बनेका उनीहरुको ‘बरिलै’, ‘हात समाइ’ लगायत बोलका म्युजिक भिडियो सार्वजनिक भैसकेका छन् ।

टिकटक्बाट नायिका

टिकटक्बाटै नायिका बन्न पुगेकी प्रियंका सिंह उनले बनाएका सैयौं टिकटक् भिडियोमार्फत् निर्देशक सुवास कोइरालाको आँखामा परेपछि सिंहलाई ‘गरुड पुराण’मा डेब्यु गराएका हुन् । म्यानेजमेन्टमा स्नातक गर्दै गरेकी प्रियंका अहिले सिनेमामै आबद्ध छिन् ।

टिकटक्मा सक्रिय नेपाली सेलिब्रेटी

नायिका वर्षा राउत, आँचल शर्मा, नीता ढुंगाना, पूजा शर्मा, केकी अधिकारी प्रियंका कार्की, सारिका घिमिरे, मोडल तथा डान्सर आश्मा विश्वकर्मा, अनु शाह, गायिका इन्दिरा जोशी, अभिनेता, निर्माता तथा निर्देशक शोभित बस्नेत आदि टिकटक्मा सक्रिय नेपाली सेलिब्रेटी हुन् ।

टिकटक्को इतिहास

बाइटडान्स नामक इन्टरनेट टेक्नोलोजी कम्पनीको यो सोसल मिडिया एप्स टिकटक् सन् २०१६ को सेप्टेम्बरमा चीनबाट सुरु भएपछि एसियाली देशहरूमा बढि लोकप्रिय भएको छ । चीनको संघाईबाट स्टार्टअप व्यापारका रूपमा सुरु गरिएको टिकटक् अमेरिकाको लस एन्जल्सलाई आधार बनाएर सञ्चालनमा ल्याइएपछि यसका कार्यालयहरु लण्डन, टोकियो, सिओल, संघाई, बेइजिङ, सिंगापुर, जकार्ता, मुम्बईका साथै मस्कोमा समेत स्थापना भैसकेका छन् ।

टिकटक् एप्सको नजर अमेरिकी टिनएजरलाई आकर्षित गरी डिजिटल मार्केट बिस्तार गर्ने कुरामा गहिरो गरी गढेको छ । तदनुरुप प्रयोगकर्ता पनि दिन गुणा र रात चौगुणा बढ्दै गएका छन् । संसारभर फैलन सफल यो एप्स ३४ भाषामा आईओएस र एन्ड्रोइड दुवै अपरेटिङ सिस्टममा उपलब्ध छ । सन् २०१४ को नोभेम्बरमा म्युजिकल्लीको नामबाट सुरु भएको यो एप्स सन् २०१८ को अगस्टमा पुग्दा टिकटक् रुपान्तरण हुन पुगेको हो । म्युजिकल्ली हुँदा ९० लाखको संख्यामा रहेका प्रयोगकर्ताहरुको संख्या टिकटक् बनेपछि बढेर दुई सय मिलियन पुगेको छ ।

कलाकार चुन्ने माध्यम टिकटक्

पछिल्लो समय टिकटक् कलाकार छनौट गर्ने सजिलो माध्यम बन्न पुगेको छ । निर्माता÷निर्देशक टिकटक् हेर्दै आफूलाई चाहिएको सीप र क्षमतासहितका कलाकार खोजिगरिरहेका देखिन्छन् । यो आफैमा अडियो–भिजुअल हुनेभएकाले पनि कलाकारको खोजीलाई सहजता प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्