मेक्सिको पर्खाल बनाउने ट्रम्पको योजनामा धक्का



वासिङ्टन : संयुक्तराज्य अमेरिकाको माथिल्लो सदन सिनेटले अल्पकालीन खर्च विधेयक स्वीकृत गरेको छ । विधेयकमा अमेरिका–मेक्सिको सीमामा पर्खाल बनाउन राष्ट्रपति डोनाल्ड ट्रम्पले अनुरोध गरेको बजेट समेटिएको छैन । 

 

सिनेटमा रिपब्लिकन पार्टीका नेता मिच म्याक्कोनेलले सरकारको दैनिक कार्यसञ्चालनका लागि बजेट स्वीकृत भएको जानकारी दिए । बजेट स्वीकृत भएसँगै सङ्घीय सरकारी कार्यालय बन्द हुने परिस्थितिबाट जोगिएका छन् । 

 

यो विधेयक तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सबाट पारित हुन आवश्यक छ र यसमा दुवै पार्टी रिपब्लिकन र डेमोक्रेटबीच सहमति भएको छ । दुवै सदनबाट पारित हुने उक्त बजेटमा शुक्रबार मध्यराति राष्ट्रपति ट्रम्पले हस्ताक्षर गर्ने एएफपीले जनाएको छ ।  

रिपब्लिकन र डेमोक्रेटिक पार्टीका नेताहरुले बुधबार राष्ट्रपति ट्रम्पको विवादास्पद अमेरिका–मेक्सिको पर्खाल निर्माणका बारेमा अहिल्यै निर्णय नगर्ने सहमति भएसँगै बजेट अनुमोदन भएको थियो । 

 

‘सिनेटमा हाम्रा रिपब्लिकन साथीहरुले बेलैमा सही निर्णय गर्नुभएको छ, र सङ्घीय सरकारी सेवा ठप्प हुनबाट जोगिएको छ । संसद्का दुवै सदनबाट यो विधेयक पारित हुने कुनै सम्भावना नै थिएन र आमजनता पनि यसको विपक्षमा छन्,’ सिनेटमा डेमोक्रेटिक पार्टीका नेता चक सुमरले बताए । 

 

ह्वाइट हाउसका सहयोगीहरुले राष्ट्रपति ट्रम्पले संशोधित विधेयकलाई नै स्वीकृत गर्ने जानकारी दिएका छन् तर राष्ट्रपति ट्रम्पका निम्ति यसलाई पराजयको रुपमा लिइएको छ । उनले पर्खाल निर्माणका लागि पाँच अर्ब डलर तत्काल जरुरी भएको बताउँदै आएका थिए । राष्ट्रपति ट्रम्पको विचारमा पर्खाल निर्माणले अवैध आप्रवासनलाई रोक्न ठूलो मद्दत गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्