राष्ट्रपतीय चुनाव प्रचारका लागि ट्रम्पद्वारा फेसबुकमा अर्बौ लगानी



वासिङ्टन : ठीक १३ महिनापछि अर्थात् नोभेम्बर २०२० मा हुन गैरहेको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा सामाजिक सन्जाल ‘फेसबुक’ ले निकै ठूलो तहल्का मच्चाउने देखिएको छ । यसको सिनारियोको संकेत गर्दै डेमोक्र्याट पार्टीकी सिनेटर तथा वर्तमान राष्ट्रपतिकी प्रत्यासी एलिजाबेथ वारेनले चुनाव प्रचार–प्रसारका लागि वर्तमान राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ‘फेसबुक’ मा ठूलो रकम खर्चेको दाबी गरेकी छिन् ।

एलिजाबेथ वारेनका अनुसार एक वर्षपछि सम्पन्न हुन गैरहेको अमेरिकी राष्ट्रपतिको आगामी कार्यकालको निर्वाचन तयारीका लागि अहिल्यैदेखि रिपब्लिकन पार्टीका प्रमुख दाबेदार तथा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले हरेक साता १० लाख अमेरिकी डलर फेसबुक विज्ञापनमा खर्च गरिरहेका छन् ।

ट्रम्पको फेस बुक लगानीको अनुपातमा पहिलेको तुलनामा केही कमी भएको देखिए पनि उनले फेसबुक विज्ञापनलाई निरन्तरता दिइरहेका छन् । डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिका अर्का आकांक्षी टम स्टेयर सामाजिक सञ्जालको चुनावी प्रचार अभियानमा दोस्रो नम्बरमा छन् । तर उनको खर्च ट्रम्पको खर्चको तुलनामा एक चौथाइ मात्र रहेको छ ।

पछिल्लो चरणमा आएर पारदर्शिता सुधार अभियान अन्तर्गत फेसबुकले आफ्नो पेजमा प्रकाशन भएका विज्ञापनको सूची र सूचना दिन थालेपछि विज्ञापनका लागि कसले के–कति रकम खर्च गरे भन्ने फेसबुक पुस्तकालयमा हेर्न पाइन्छ । एक महिनाभित्र ‘मेक अमेरिका ग्रेट अगेन’ मेगा अभियान समितिले राष्ट्रपति ट्रम्पको पेजमा विज्ञापन गर्न २४ लाख र उपराष्ट्रपति माइक पेन्सको पेजमा १३ लाख अमेरिकी डलर खर्च गरेको फेसबुक पुस्तकालयमा उल्लेख छ ।

यी रकम मेगा अभियान अन्तर्गत गरिएको भनिए पनि कम्प्युटर वैज्ञानिकले यी सबै चुनावी प्रचारका लागि खर्च गरिएका रकम भएका भनी आधिकारिकता पुष्टि गरिसकेका छन् । यही अक्टोबर महिनामा एक साता अर्थात् ६ देखि १२ तारेखको अवधिमा ट्रम्प मेगा कमिटीले ४ लाख ५० हजार र डीजेटीपी नामक संस्थाले ४० हजार खर्च गरेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्