नागढुंगा-नौबीसे सुरुङमार्गमा सररर, यस्ता छन् विशेषता



काठमाडौं : नेपाल–जापानबीच भएको द्विपक्षीय सम्झौताअनुसार जापानको ऋणसहयोगमा बहुचर्चित नागढुङ्गा–नौबीसे सुरूङमार्ग निर्माण हुने भएको छ । आयोजनाका अनुसार सोमवार प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सिलान्यास हुने गरी यसको तयारी गरिएको छ ।

काठमाडौंमा देशभरबाट गाडीहरु भित्रँदा देखिने जामका कारण ‘नागढुंगा रेल’ को नामले निकै चर्चा पाएको ट्राफिक जाम हुने यो नाका अब निर्माण हुने सुरुङ मार्गले हल गर्ने देखिएको छ । राजधानीको मुख्य नाकाका रुपमा रहेको यो नाकामा निर्माण गरिन लागेको सुरुङमार्ग विकल्पसहित निर्माण गर्ने योजना रहेको बताइएको छ ।

सबैको गहिरो चासो रहेको यो सुरुङ मार्गको निर्माण केही महिनापछि मात्र सुरु गरिने छ । यसका लागि आवश्यक कागजी, प्राविधिक र अन्य सबै कामहरू पूरा हुने प्रक्रियामा छन् । ती पूरा हुनेबित्तिकै कार्यान्वयनले क्रियात्मकता हासिल गर्ने छ ।

यो सुरुङ निर्माणको ठेक्का जापानकै हाज्मा आन्दो कर्पोरेशनले लिएको छ । उक्त कम्पनीले सुरुङ निर्माणस्थलमा निर्माण शिविरहरू राख्न सुरु गरिसकेको छ । यसका लागि नेपाल सरकारका तर्फबाट गरिने केही कामहरु पनि बाँकी छन् ।

नेपाल सरकारको तर्फबाट सबैभन्दा पहिले पूरा गरिनु पर्ने प्रक्रिया भनेको सुरुङ निर्माणका लागि आवश्यक जग्गा समयभित्रै अधिग्रहण गरिसक्नु हो । यो काम नेपाल सरकारको तर्फबाट लगभग पूरा भैसकेको जनाइएको छ ।

निर्माण हुने सडक आयोजनाको सुरुङ र सडक गरी जम्माजम्मी पाँच किलोमिटर लामो रहेको छ । त्यसमा मूल सुरुङको हिस्सा लगभग २.६८ किलोमिटर रहने छ । काम सुरु भएको लगभग ४२ महिनाभित्र निर्माण सम्पन्न गरिसक्ने आयोजनाको लक्ष्य रहेको छ ।

उक्त आयोजना सम्पन्न गर्न कुल २२ अर्ब बजेट लाग्ने छ । जग्गा अधिग्रहण गर्न ६÷७ अर्ब रुपैयाँ लाग्ने र त्यो नेपाल सरकारको लगानी हुने तर बाँकी सुरुङ तथा बाटो निर्माणका लागि आवश्यक बजेट जापान सरकारको ऋण हुने बताइएको छ ।

हाल सम्पन्न भैरहेको जग्गाअधिग्रहणको बाँकी काममा धादिङतर्फको ४४ रोपनी जग्गामा केही प्राविधिक समस्या देखिन गएको बताइएको छ । यस अतिरिक्त ८५ प्रतिशत अधिग्रहणको काम पूरा भैसकेको छ ।

प्रतिक्रिया दिनुहोस्