इलाममा सुरु भयो पर्यटन महोत्सव



इलाम : जिल्ला सदरमुकाममा १० दिने ‘मेची क्षेत्र पर्यटन महोत्सव’ सुरु भएको छ । इलाममा आयोजना भएकामध्ये हालसम्मकै सबैभन्दा ठूलो पर्यटन महोत्सवका रूपमा सञ्चालित महोत्सवमा पचास हजार पर्यटक भित्र्याउने लक्ष्य आयोजकको छ ।

 

महोत्सवमा साहित्यिक तथा सांस्कृतिक विषयवस्तु प्रदर्शनका साथै जातीय खानाका परिकारसमेत प्रस्तुत गरिएको छ । महोत्सवको सुरुमा नेवारी, राई, गुरुङ, लिम्बू तथा ब्राह्मण जातिका जातीय वेशभूषा र बाजागाजासहित र्याली निकालिएको थियो । र्यालीमा चार जिल्लाका पर्यटकीय स्थलको प्रतीकात्मक प्रदर्शन गरिएको थियो । 

 

साबिक मेचीका चार जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने योजनाले सुरु भएको महोत्सव १६ गतेसम्म चल्नेछ । चार जिल्लामा बसोबास गर्ने जातजातिको लोप हुन लागेको संस्कृति प्रदर्शन, दुर्लभ जीवजन्तु र पर्यटकीय क्षेत्रको प्रचारप्रसार गरिने आयोजकको भनाइ छ । 

 

पर्यटन प्रवर्द्धन सरोकार समितिको आयोजनामा भएको महोत्सवमा ५० वटा स्टल निर्माण गरिएका छन् । महोत्सवमा ताप्लेजुङबाट शेर्पा नाच, झापाबाट सतार नाच, इलाम र पाँचथरको पर्यटकीय क्षेत्र सन्दकपुरबाट चौंरी र घोडासमेत ल्याएको आयोजक समितिका महासचिव देवी पौड्यालले बताए । 

प्रतिक्रिया दिनुहोस्