बोलिभियामा राष्ट्रपतिको निर्वाचन, मोरालेसको पहिलो चरणमा अग्रता



एजेन्सी : राष्ट्रपतिको चौथो कार्यकालका लागि प्रतिस्पर्धामा उत्रिएका इभो मोरालेस अरु उम्मेदवारभन्दा झिनो मतले अगाडि भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले सार्वजनिक गरेको प्रारम्भिक मतगणनामा मोरालेस र उनका मुख्य प्रतिस्पर्धी कार्लोस मेसाबीच करिब ७ प्रतिशत मतान्तर देखिएको छ ।

मोरालेसले कूल गणना गरिएको मतको करिब ४५ प्रतिशत र मेसाले ३८ प्रतिशत मत प्राप्त गरेका छन । सन् २००५ मा पहिलो पटक मुलुकको राष्ट्रपतिमा निर्वाचित भएका मोरालेसले त्यसपछिका कुनै पनि प्रतिस्पर्धामा दोस्रो चरणको मतदानको सामना गर्नु परेको थिएन ।

पूर्व कोका कृषक एवं वामपन्थी युनियनका नेता मोरालेसले स्रोतसाधन सम्पन्न तर अति गरिब मुलुक बोलिभियामा १३ वर्ष शासन गरिसकेका छन । तर पछिल्लो समय भ्रष्टाचार र अधिनायकवादी शैलीका कारण उनी विरुद्धको जनमत बढ्दै गएको छ । मोरालेस विरुद्ध ६६ वर्षीय पूर्व राष्ट्रपति मेसाले कडा टक्कर दिएका छन ।

मेसा सन् २००१ देखि २००५ सम्म बोलिभियाको राष्ट्रपति हुनुहुन्थ्यो । मेसाले मोरालेसको बामपन्थी सरकार भ्रष्टाचारमा अल्झिएको भन्दै निरन्तर आलोचना गर्दै आएका छन । दक्षिण कोरियामा जन्मेका पादरी ची ह्यून चुङले पनि अप्रत्यासित रुपमा ८.७ प्रतिशत मत प्राप्त गरेका छन ।

आगामी डिसेम्बर १५ मा हुने दोस्रो चरणको चुनावमा चुङको समर्थनले पनि चुनावी परिणामलाई प्रभावित तुल्याउन सक्नेछ । मोरालेसलाई चौथो कार्यकालका लागि उम्मेदवार हुन बोलिभियाको संवैधानिक अदालतले सन् २०१७ मा बाटो खोलिदिएको थियो ।

बोलिभियाको संविधानमा लगातार दुई कार्यकाल मात्र राष्ट्रपति हुन पाइने व्यवस्था छ । अदालतको नयाँ आदेशबाट उनी आगामी सन् २०२५ सम्म शक्तिमा रहन पाउनेछन । ला पाजमा मतदान पछि आफ्ना समर्थकलाई सम्बोधन गर्दै विपक्षी नेता मेसाले चुनावमा धाँधलीको सम्भावना रहेको बताएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्