मत्थर हुँदै चीन–अमेरिका व्यापार युद्ध, सोयाबिन किनबेच सुरु



बेइजिङ : चीनको राज्य–नियन्त्रित कम्पनीले अमेरिकी भटमास (सोयाबिन) पुनः खरिद गर्न थालेको छ । यसै महिना अमेरिकासँग ९० दिने व्यापारिक युद्धविराम भएसँगै चीनले अमेरिकी सोयाबिन खरिद गर्न थालेको हो । 

 

व्यापार विवाद सुल्झाउने उद्देश्यले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच डिसेम्बर १ मा सम्झौता भएसँगै त्यस सम्बन्धमा सकारात्मक सङ्केत गर्ने उद्देश्यले चीनले अमेरिकी सोयाबिन खरिद गर्न थालेको विश्लेषकहरुले जनाएका छन् । 

 

‘दुबै नेताबीच भएको सहमति कार्यान्वयनका लागि हाम्रो कम्पनीले अमेरिकाबाट केही सोयाबिन खरिद गर्न थालिएको हो,’ चाइना ग्रेन रिजर्भ करपोरेसन अर्थात् साइनोग्रेनले प्रकाशन गरेको वक्तव्यमा उल्लेख छ । 

 

ट्रम्प र सीले ब्युनस आयर्समा सम्पन्न जी–२० शिखर बैठकका क्रममा दुवै मुलुकबीच उत्पन्न व्यापारिक तनाव कम गर्न ९० दिने युद्धविराम गरेका थिए । उक्त सहमतिपश्चात् करवृद्धिका थप घोषणा र चेतावनी नआएको एएफपीले जनाएको छ । 

 

अमेरिकाले सयौं अर्ब डलर बराबरका चिनियाँ सामानमा करवृद्धिको घोषणा गरेसँगै चीनले पनि प्रतिशोध स्वरुप अमेरिकामा उत्पादित सोयाबिनमा करवृद्धि गरेको थियो । चीनको उक्त निर्णयका कारण अमेरिकी कृषकहरु ठूलो समस्यामा परेका थिए । 

 

दुवै देशबीच जनवरीदेखि व्यापार वार्ता हुँदैछ । चीनले अमेरिकामा निर्मित कार र कारका सामानमा यही जनवरी १ बाट लागू हुनेगरी तीन महिनाका लागि अतिरिक्त कर नलिने घोषणा गरेको छ । चीनको पछिल्लो कदमले व्यापार मध्यस्थ वार्ता सकारात्मक रुपमा अघि बढ्ने देखाएको छ । 

 

यसैबीच चीन र अमेरिकाका उच्च व्यापार प्रतिनिधिबीच वार्ताका विषयमा टेलिफोन कुराकानी भएको एएफपीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्