ट्युबका ठाउँमा झोलुङ्गे पुल, नेपाल–भारत आवतजावत सहज



दार्चुला : लेकम गाउँपालिका–३ लालीमा नेपाल–भारत जोड्ने झोलुङ्गे पुल निर्माण पूरा भएको छ । पुल प्राविधिक रुपमा स्वीकृत भएपछि त्यसबाट आवतजावत गर्न दिइनेछ । 

 

पुल निर्माणको प्राविधिक मूल्याङ्कन गर्न दुई तीन दिनभित्र प्राविधिक टोली लाली आउने कार्यक्रम रहेको ठेकेदार कम्पनीले जनाएको छ । पहिलोपटक केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला २०७२ साल असोज २५ गते देशभरका तुइन दुई वर्षभित्र हटाउने घोषणा भएको थियो । उक्त घोषणाअनुसार दार्चुलाको लेकम क्षेत्रमा सञ्चालनमा रहेको ट्युब तथा उत्तरी क्षेत्रमा सञ्चालनमा रहेका तुइन विस्थापन गर्ने लक्ष्य राखिएको थियो । 

 

लेकम गाउँपालिकालाई भारतसँग जोड्ने झोलुङ्गे पुल निर्माणका लागि ०७३ असोज ४ गते एक करोड ३२ लाख लागतमा सम्झौता भएको थियो । ढिलै भए पनि पुल निर्माणपछि स्थानीय खुसी भएका छन् । वर्षौंदेखि महाकाली नदीमाथि ट्युबको सहारामा आवतजावत गर्दै आएका स्थानीयलाई पुल निर्माणले सहज भएको सीमा प्रहरी चौकी लालीका निमित्त इन्चार्ज गणेश बुडालले बताए ।

 

‘पुल निर्माण करिब सकिएको छ, बुडालले भने, ‘दुवैतिर ढोका बन्द गरेर राखेका छौँ । अहिले पुलमा आवतजावत गर्न दिएका छैनौँ । प्राविधिक रुपमा मूल्याङ्कन नगरिएको कारण पुलबाट स्थानीयलाई आवतजावत गर्न नदिइएको हो’, उनले भने । 

 

पुल निर्माणपछि लेकम गाउँपालिका वडा नम्बर १, २, ३, ४ र ५ का बासिन्दालाई आवतजावतमा सहज हुने स्थानीय गणेश भण्डारीले बताए । २०४८ सालमै लालीमा झोलुङ्गे पुल निर्माण हुन्छ भनेर सुनेका स्थानीयले झन्डै ३० वर्षपछि झोलुङ्गे पुल पाएका हुन् । पुल नहुँदा स्थानीयलाई ट्युबको सहारामा दैनिक उपभोग्य सामग्री ल्याउनुपरेको थियो ।

लेकम क्षेत्रलाई जोड्ने नेपालतिरको निर्माणाधीन महाकाली करिडोरले गति लिएको छैन । लालीको झोलुङ्गे पुल निर्माणपछि लेकम क्षेत्रको व्यापारिक नाकाको रुपमा विकास हुने गाउँपालिका अध्यक्ष प्रमानन्द जोशीले बताए । लेकम क्षेत्रको लाली उर्बर भूमि हो । सडक पहुँच नहुँदा यहाँ उब्जनी हुने धान, दाललगायतको खाद्यान्न बिक्री गर्न समस्या हुने गरेको थियो । 

रासस

प्रतिक्रिया दिनुहोस्