पोलिमर नोटकाण्डमा पूर्वगभर्नरसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौं : पोलिमर नोट काण्डमा पूर्वगभर्नर सहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वगभर्नर तिलक रावलसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।  

रावलसहित अख्तियारले तत्कालीन नोट विभाग प्रमुख उपेन्द्र केशरी पौडेल र मे फ्लावर लिमिटेडका स्थानीय प्रतिनिधि हिमालय बहादुर पाण्डेविरुद्ध अदालतमा मुद्धा दायर गरिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए । 

उनीहरुविरुद्ध २ करोड ७३ लाख रुपैयाँ बिगो कायम गरेर विशेष अदालतमा मुद्दा दायर गरिएको हो । उनीहरूविरुद्ध जनही ९१ लाख ९ हजार रुपैयाँ बिगो कायम गरिएको छ।

उनीहरूमाथि नेपाल राष्ट्र बैंकले अष्ट्रेलियामा १० रुपैयाँ दरको ५ करोड थान पोलिमर नोट छपाइका क्रममा गुणस्तरहीन छपाई भएको, एजेन्टमार्फत आर्थिक लेनदेन गरेको, नोट प्रिन्टिङमा मिलेमतो गरी गैरकानुनी रूपमा नोट छपाइ गरेको आरोप लागेको थियो । अख्तियारले केही समय अघिदेखि यस विषयमा छानबिन गरिरहेको थियो ।  

पोलिमार नोट प्रकरणमा कमीकमजोरी सार्वजनिक नहोस् भनी उनीहरुले पत्रकारलाई थाईल्याण्ड हुँदै अष्ट्रेलिया भ्रमण समेत गराइएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्