प्रसूति अस्पतालमा जे देखियो…



काठमाडौं : थापाथलिस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा बिरामीले सहज रूपमा सेवा पाउन नसक्दा सास्ती बेहोर्न बाध्य छन् । बिरामी उपचारका लागि टाढाटाढाबाट अस्पताल आउने गरे पनि सहज रूपमा सेवा पाउन नसकेको देखिएको छ ।

राजधानी दैनिकले गरेको स्थलगत रिर्पोटिङका क्रममा बिरामीले सहज सेवा पाउन नसक्दा सास्ती पीडा र समस्या भोग्न बाध्य भएको पाइएको हो ।

सेवा प्रवाहका लागि खटिएका कर्मचारीले मुस्कानसहितको सेवा नदिएको, बिरामीमैत्री व्यवहार नगरेको गुनासो बिरामीले गरे । माछापोखरी बस्दै आएकी हिमा ढुंगानाको एक्कासि पेट दुखेपछि उपचारका लागि अस्पतालको इमर्जेन्सी कक्षमा पुगिन् ।

उनी बिहान १० बजे आए पनि दुई बजेसम्म चेकजाँचका लागि बेड नपाएपछि कक्षको मेन गेटमा रहेको बेन्चमा बसिरहिन् तर पालो आएन ।

४ घण्टासम्म पनि बेड नपाएपछि रिपोर्टरले नर्सलाई सोध्दा नर्स भन्छिन्, ‘इमर्जेन्सीमा डाक्टरले चेकजाँच गर्न मिल्ने पाँच मात्रै बेड छन् । त्यही भएर पालो कुनुपर्ने हुन्छ ।’

२३ वर्षीया सबिता गुरुङ सुत्केरी भएपछि नियमित चेकजाँचका लागि दिउँसो एक बजे अस्पताल पुगिन् । उनलाई गार्डले एक बजिसक्यो तुरुन्त टिकट काट्न आग्रह गरे । तर, ओपीडी काउन्टर बन्द भइसकेको थियो ।

सबिताका आफन्त रबिनले भने, ‘के गर्नु महाराजगन्जबाट ट्याक्सी रिजर्भ गरेर आए । फर्किनुप-यो ।’ ओपीडी काउन्टर बिहान ७ बजेदेखि १ बजेसम्म खुला हुन्छ । विराटनगरका अर्जुन राई औषधि लिन अस्पतालको फार्मेसीमा पुग्छन् ।

तर, त्यहाँ लाइनको ताँती देखेपछि उनले औषधि किन्न निजी फार्मेसी जान्छन् । उनले भने, ‘औषधि किन्न यति धेरै लाइन लाग्नुपर्छ । योभन्दा त निजी औषधि पसलबाटै किने चाँडै हुन्छ ।’

व्यवस्थापकीय समस्याका कारण अन्ततः उनी अप्रेसन गर्दा दुखाइ कम हुने औषधि किन्नका लागि निजी अस्पताल धाउन बाध्य हुन्छन् । फार्मेसी अधिकृत कृष्णकुमार यादवका अनुसार दरबन्दी कम हुँदा सेवा प्रवाहमा समस्या भएको स्वीकार्छन् ।

उनले भने, ‘एक जना फर्मासिस्ट र पाँच जना फार्मेसी सहायकको दरबन्दी छ । हामीले थप तीन जना जनशक्तिको माग गरेका छौं । माग सम्बोधन भएको छैन, त्यही भएर पनि सेवा प्रवाहमा समस्या भएको यथार्थ हो ।’ राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्