विराटनगरमा हुने पाँचौं साफका लागि समिति गठन



विराटनगर : अखिल नेपाल फुटबल संघ एन्फाले विराटनगरमा हुने साफ महिला च्याम्पियनसिप २०१८ का लागि सचिवालय समिति र मैदान व्यवस्थापन समिति गठन गरेको छ । 

 

विराटनगरमा आयोजित एक कार्यक्रममा साफ तयारीका लागि दुईवटा समिति गठन गरिएको एन्फाका केन्द्रीय सदस्य एवं प्रवक्ता किरण राईले जानकारी दिए । 

 

प्रवक्ता राईका अनुसार च्याम्पियनसिपको समय नजिकिदो भएकाले साफ च्याम्पियनसीपको तयारी समितिद्वारा सचिवालय एन्फाका सहमहासचिव बसन्त अर्यालको संयोजनमा पाँच सदस्यीय समिति गठन गरिएको छ ।

 

समितिमा जिल्ला फुटबल संघ मोरङका महासचिव ओमप्रकाश मास्के, वरिष्ठ उपाध्यक्ष विमल राजभण्डारी, उपाध्यक्ष दिपेन्द्र तिवारी, र सदस्य अभयकुमार राई रहेका छन् । 

 

त्यसैगरी, मैदान व्यवस्थापनका लागि फुटबल संघ मोरङका अध्यक्ष दिपेन्द्र धिमालको संयोजकत्वमा मधुसुदन खनाल, मदन काफ्ले, अरुण लामा र राजु थापा रहेका छन् । 

 

कार्यक्रममा साफ च्याम्पियनसीप तयारी समितिका संयोजक एवं एन्फाका केन्द्रीय सदस्य पंकज विक्रम नेम्बाङले प्रदेश नम्बर एकले अन्तर्राष्ट्रिय प्रतियोगिता गर्ने सुनौलो अवसर पाएकोमा सबै मिलेर सफल बनाउन आग्रह गरे ।

 

 साफ च्याम्पियन्सीप प्रदेशसँगै विराटनगरवासीका लागि चुनौती र अवसर दुवै भएको उनले बताए । त्यसैगरी, एन्फाका पूर्व मानार्थ उपाध्यक्ष सन्तोष बानियाँले साफको गरिमालाई सफल बनाउन सबैलाई समेट्नुपर्नेमा जोड दिए । 

 

त्यसैगरि एन्फाका सदस्य दिपक राईले च्याम्पियन्सीपका चुनौतिहरुलाई पहिचान गर्दै समन्वयमा कार्य गर्न आग्रह गरे । 

 

कार्यक्रममा उपस्थित पदाधिकारीले अन्र्तराष्ट्रिय टोलीका लागि उचित होटलको व्यवस्थापन, सुरक्षा अवस्था तथा भौतिक संरचनालाई गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा मोरङ जिल्ला फुटबल संघ, सुनसरी जिल्ला फुटबल संघका पदाधिकारीहरुको उपस्थिती रहेको थियो । 

 

महिला साफको पाँचौं संस्करण फागुन २८ गतेदेखि चैत्र ८ गतेसम्म हुने विराटनगरमा हुँदैछ । 

 

च्याम्पियन्सीपमा आयोजक राष्ट्र नेपालसँगै भारत, बंगलादेश, श्रीलंका, भुटान, पाकिस्तान, माल्दिभ्सको सहभागिता रहनेछ । 

 

प्रतिक्रिया दिनुहोस्