भारतीय नोट प्रतिबन्धबाट वीरगन्ज प्रभावित



वीरगन्ज : संघीय मन्त्रिपरिषद्को बैठकले गत मंसिर २४ गते नेपालमा भारतीय २ सय, ५ सय र २ हजार दरका नोट चलनचल्तीमा रोक लगाएपछि आर्थिक नगरी वीरगन्जमा त्यसको प्रभाव परेको छ । नोटबन्दीका कारण भारतमा स्वास्थ्यउपचारका लागि जानेहरु, शिक्षाका लागि जाने विद्यार्थी, नातेदारकहाँ जाने सर्वसाधारणसहित व्यापारव्यवसाय तथा पर्यटनमा असर परेको छ । 

नेपाली विद्यार्थी भारतका विभिन्न सहरमा शिक्षाको लागि जाने गरेका छन् । उनीहरुको नामांकन शुल्क भारतीय रुपैयाँमै हुने गरेको छ । नेपालमा सय दरभन्दा माथिका भारतीय नोटमा प्रतिबन्ध लगाएका कारण अहिले भारतीय रुपैयाँ उपलब्ध हुन सकेको छैन । 

वीरगन्ज १६ नगवा बस्ने विद्यार्थी अमित यादव प्रतिबन्धले आफूलाई असर परेको बताउँछन् । उनी स्नातक सकिएर एमबिए पढ्न भारतको बेङ्गलोर जाने तयारीमा छन् । नामांकनका लागि चाहिने भारतीय मुद्रा सटही हुन नसकेपछि उनलाई समस्या भएको छ ।

 

‘हामीलाई तत्काल एक लाख ५० हजार भारतीय रुपैयाँ आवश्यक छ तर वीरगन्जको सटही काउन्टरमा समेत भारतीय रुपैयाँ पाइरहेको छैन,’ उनले भने, ‘कानुनी कारबाहीको त्रासले सटही काउन्टरका सञ्चालकले भारतीय नोटहरु राख्न छाडेको बताउँछन् ।’ उनले सरकारी निर्णय फिर्ता लिन माग गरे । 

नेपाल राष्ट्रबैंकले जनही पाँच हजारको दरले एक सयको नोटमात्र उपलब्ध गराउने गरेको छ । यसले आवश्यकता धान्दैन । वीरगन्जको नेसनल मेडिकल कलेजमा उपचार गराइरहेका पर्साको मिलनचोक निवासी ४५ वर्षीय शेख ओजिर मिया चार दिनदेखि नेसनल मेडिकलमा उपचार गराइरहेका छन् ।

 

सुधार नदेखेपछि उनलाई परिवारजनले भारतको पटना उपचार गराउन लैजाने तयारी गरेका थिए । तर भारतीय रुपैयाँको अभावमा अलमलमा छन् । मियाका ज्वाइँ शेख मइमले थप उपचार गर्न पटना जाने तयारीमा लागेको बताए ।

 

नेपालमा सयभन्दा माथिका नोटमा प्रतिबन्ध लागेपछि भारतीय रुपैयाँ जोहो गर्न समस्या भएको उनको गुनासो छ । ‘हामी सयकडा पाँच रुपैयाँ दिन तयार छौं तर पाइएको छैन,’ उनले भने, ‘बैंकमा बिहानदेखि लाइनमा बस्दा २ बजे पालो आयो, बैंकका कर्मचारीले नागरिकताको फोटोकपी लिएर ५ हजारमात्र भारतीय रुपैयाँ दिए ।’

 

नोट नचल्दा व्यापार व्यवसाय पनि प्रभावित भएको छ । वीरगन्जकै आदर्शनगर भारतीय ग्राहकमा निर्भर छ । तर यति बेला भारतीय ग्राहक आएका छैनन् । आर्दशनगरस्थित पसल निलाम्बरीका सञ्चालक सुशील अग्रवालले कानुनी डरले भारतीय ग्राहक आउनै छाडेको बताए ।

 

सरकारी निर्णयले वीरगन्जबजार ठप्पजस्तै हुने देखिएको छ । अर्का व्यापारी राजेशकुमार सिस्काले भारतीय नोटमा प्रतिबन्ध लगाएसँगै भारतीय पर्यटक आउन कम भएको बताए ।

 

प्रतिक्रिया दिनुहोस्