सुधार गृहमा दिइने यातनाको छानविन गर्दै प्रशासन 



विराटनगर : मोरङको उर्लाबारीमा रहेको जीवन बचाउ उपचार सेवा गृह नामक सुधार गृहका बारेमा प्रशासनले छानविन थाल्ने भएको छ । 

 

मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीको अगुवाईमा गृहमा राखिएका बिरामीलाई दिने गरिएको चरम यातनाका बारेमा जिल्ला प्रशासन कार्यालय मोरङले छानविन थाल्ने जनाएको हो । 

 

लागूऔषध तथा नशाजन्य वस्तुको दुव्र्यसन र कुलतमा फसेका बिरामीलाई सुधारका लागि भनेर राखिएको उक्त सुधार गृहमै कुटपिट गर्ने र यातना दिने गरिएको घटना बाहिर आएपछि प्रशासनले चासो दिएको हो । 

 

प्रजिअ रमेशकुमार केसीले सुधारका लागि भनेर राखिएका बिरामीलाई लामो समयदेखिको यातना दिने गरिएको विषयमा विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशन भएपछि प्रशासनको ध्यान आकर्षण भएको जनाए । 

‘यस्तो गलत गतिविधीका बारेमा प्रशासनले छानविन थालिसकेको छ,’ उनले भने, ‘कुटपिट गर्ने र यातना दिने गरिएको घटना पुष्टि भए सुधार गृह सञ्चालकमाथि कारबाही गर्छौ ।’ 

 

केसीले सुधारका लागि भनेर राखिएकालाई कुनै पनि किसिमको यातना दिन नपाइने र उचित हिसाबबाट आवश्यक ‘काउन्सिलिङ’ गरेर सकारात्मक सोचको विकास गराउँदै समाजमा पुर्नस्थापना हुने वातावरण दुव्र्यसन र कुलतमा फसेकाका लागि तयार पार्नुपर्ने बताए । 

 

मदिरा सेवन गरेको बहानामा मोरङकै कानेपोखरी गाउँपालिका ३ का ४० वर्षीय सूर्य भट्राईलाई पनि सुधार्ने जिम्मा लिएर कात्तिकमा लगेको थियो । सूर्यको अहिले दाहिने घुँडामा चोट छ । चोटले घुँडा सुन्निएपछि हिडडुल गर्न सक्दैनन् । 

 

परिवारका सदस्यले गृहमै दिएको यातनाले सूर्यको घुँडामा चोट लागेको गुनासो गरे । दाजु पुस्करले भाईलाई बन्धक बनाएर सुधार गृहमा यातना दिइएको भन्दै उद्धारका लागि माग पनि गरेका छन् । 

 

बिहीबार प्रजिअ रमेशकुमार केसीसँग कुराकानी गर्दै पुस्करले भाईलाई त्यहाँबाट निकालेर उपचारका लागि लैजान खोज्दा पनि सुधार गृहले नदिएको गुनासो पोखेका छन् । पुस्करले भाईलाई भेट्न जाँदा आफूलाई पनि सुधार गृह सञ्चालकले विभिन्न किसिमबाट धम्की दिदै कुटपिट समेत गर्न खोजेको बताए ।

 

 प्रजिअ रमेशकुमार केसीले सुधार गृहमा राखिएका भट्राईको अवस्थाका बारेमा बुझ्दै उनलाई त्यहाँबाट बाहिर निकाल्न सहयोग गर्ने र घटनाका बारेमा विस्तृतरुपमा अनुसन्धान गरेर दोषीमाथि कारवाही अघि बढाइने जानकारी दिए । 

 

प्रतिक्रिया दिनुहोस्