प्रदेश दुईका दुई जिल्लामा राष्ट्रिय परिचयपत्र



जनकपुरधाम : गृह मन्त्रालयले चालु आर्थिक वर्षमा प्रदेश २ का महोत्तरी र सप्तरी जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण गर्ने जनाएको छ । यो आर्थिक वर्षभित्र १५ जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण गर्ने लक्ष्यअनुरुप प्रदेश दुईका दुई जिल्लामा यही वर्ष परिचयपत्र दिन लागिएको हो । 

गृह मन्त्रालयको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले बिहीबार जनकपुरमा आयोजना गरेको कार्यशालामा विभागका महानिर्देशक दीपक काफ्लेले यो आर्थिक वर्षमा प्रदेश २ को महोत्तरी र सप्तरीमा परिचयपत्र बाँड्ने कार्यक्रम तय भएको जानकारी दिए ।

१६ वर्ष उमेर पुगी नागरिकता लिइसकेका महोत्तरीका ३ लाख ७७ हजार ७ सय ४० र सप्तरीका ३ लाख ८४ हजार ७ सय ८५ जनाले राष्ट्रिय परिचयपत्र पाउने भएका हुन् । 

यी दुई जिल्लासहित झापा, संखुवासभा, ललितपुर, रसुवा, चितवन, स्याङ्जा, तनहुँ, कपिलवस्तु, गुल्मी, सल्यान, जुम्ला, अछाम र कञ्चनपुर जिल्लामासमेत यही वर्ष राष्ट्रिय परिचयपत्र वितरण गरिने काफ्ले जानकारी दिए । 

राष्ट्रिय परिचयपत्रमा नागरिकका जैविक तथा व्यक्तिगत विवरण राखिनेछ । प्रत्येक नागरिकको परिचय खुल्ने गरी अभिलेख राख्ने प्रणालीको विकास गर्ने उद्देश्यका साथ सरकारले यो परिचयपत्र दिन लागेको हो ।

कार्यशाला गोष्ठीमा बोल्दै प्रदेश २ का भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले कतिपय नागरिकले नागरिकता पाउन नसकेको अवस्थामा राष्ट्रिय परिचयपत्र वितरण गर्ने सरकारको लक्ष्य पुरा हुनेमा आशङ्का व्यक्त गरे । 

‘राष्ट्रिय परिचयपत्र लिन नागरिकतालाई आधार बनाइएको छ,’ उनले भने, ‘तर कतिपय नागरिकता पाउन नसकेका नागरिकले राष्ट्रिय परिचयपत्र कसरी पाउने ?’ उनले परिचयपत्र वितरण सुरु गर्नु अघि नागरिकताबारे देखिएको समस्या समाधान गर्न सुझाव दिए ।

सरकारले पहिलो चरणमा पाँचथर जिल्ला र सिंहदरबारका कर्मचारीलाई राष्ट्रिय परिचयपत्र वितरण गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्