दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान घाइते



विराटनगर : कोसी राजमार्ग अन्तर्गत विराटनगरको बरगाछीमा बिहीबार साँझ भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । 

दुर्घटनामा मोरङको पथरीशनिश्चरे नगरपालिका १० की २२ वर्षीया हिमा कार्कीको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परि २६ वर्षीय मनोज कार्की घाइते भएका छन् । हिमा र मनोज पतिपत्नी हुन् । 

घाइते मनोजको विराटनगरस्थित लाइफ गार्ड अस्पतालमा उपचार भइरहेको छ । विराटनगरबाट पथरीशनिश्चरेस्थित घर फर्कँदै गर्दा को२८प ३८५६ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सडकको बीचमा लेन छुट्ट्याउन राखिएको डिभाईडरमा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो । डिभाईडरमा ठोक्किएपछि मोटरसाइकलको पछाडि सवार हिमा उछिट्एर सडकमा गुडिरहेको नेपाल आयल निगमको ना७ख ४६२३ नम्बरको ट्याङ्करसँग ठोक्किएकी थिइन् ।

सोही ट्याङ्करले किचेर हिमाको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक शिवकुमार पोखरेलले बताए । ट्याङ्कर र सोका चालक दीपक भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्