महान्यायाधिवक्ता र शहरी विकासमन्त्री यसरी तानिए,सिटौलासँग धरधरी रोए महरा



काठमाडौ : महरा प्रकरण एकपछि अर्को गर्दै पेचिलो बनेको छ । तत्कालिन सभामुख कृष्णबहादुर महरामाथि संसद सचिवालयमा कार्यरत रोशनी शाहीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि प्रतिनिधि सभाको सभामुखबाट राजीनामा दिन बाध्य भए ।

अन्ततः उनी प्रहरी हिरासतमा पुगेका छन् । तर पीडित भनिएकी महिला शाहीले आफ्ना कुरा फेरिरहेकी छन् । महराले आफूमाथि राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्तिहरुले षड्यन्त्र गरी फसाएको गुनासो गरिरहँदा पीडित महिलाले कहिले महरामाथि यौन दुर्व्यवहारको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिन्छिन भने कहिले आफूलाई प्रहरीले ब्ल्याक मेलिङ गरेर जवरजस्ती उजुरी दिन लगाएको बताउछिन् । पछिल्लो पटक यस्तै ब्यहोराको निवेदन अदालतमा समेत पेश गरेकी छन् । यसबाट अनुसन्धानमा खटिएका प्रहरी पनि आजित छन् ।

यो प्रसंग त वेग्लै छ । महरा प्रकरणले नेपालको राजनीति तातिरहेका बेला तत्कालिन माओवादीबाट वार्ता टोलीका संयोजक रहेका महरालाई भेट्न तत्कालिन सरकारी वार्ता टोलीका संयोजक कृष्णप्रसाद सिटौला नर्भिक अस्पताल पुगेका छन् । करिव डेढ घण्टा एक्लाएक्लै वार्ता गरेको महरा र सिटौलाबीच धेरै कुरा भएको बताईन्छ । महराले सिटौलासँग आफूलाई पार्टीकै केही नेता, राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्तिले फँसाएको गुनासो गर्दै आँशु खसालेको श्रोतले बताएको छ । श्रोतका अनुसार बोल्दा बोल्दै महराको आँखाबाट आँशु झरेको थियो ।

उता महराको यौन सम्बन्धी कमजोरीका विषयमा महरा परिवारदेखि पूर्व माओवादीका शिर्ष नेताहरु सबै जानकार थिए । रोशनीसँगको सम्बन्धको विषयमा पनि सबै नेता जानकार भएको बताएको छ । यस प्रकरणमा पछिल्लोपटक तानिएका छन् –महान्यायाधिवक्ता अग्नि खरेल ।

तिनकुने सुविधानगर वासिन्दा खरेल र विवादमा मुछिएकी रोशनी शाही बस्ने डेरा नजिक नजिक हो । खरेलकै जोडबलमा केही समय अघि टोल सुरक्षाका निम्ति भन्दै सिसिटिभी क्यामरा जोडिएको थियो । महरा र रोशनीको सम्बन्धको विषयमा जानकारी पाएका खरेलले सिसिक्यामरा जडान गर्ने क्रममा रोशनी बस्ने घरको अगाडी पनि राख्न लगाएका थिए ।

यसलाई अहिले अर्थपूर्ण ढंगले हेरिएको छ । त्यसो त महान्याधिवक्त खरेलले नै सिसिक्यामेराको फुटेजबाट भिजुअल निकालेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको चर्चा पनि बाहिर छ । त्यही भिजुअललाई आधार बनाउदै प्रधानमन्त्री ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री रामबहादुर थापालाई देखाउदै कारबाही गर्ने कुरा अगाडी बढाएका थिए ।

श्रोतका अनुसार महरालाई ठेगान लगाउन खरेल सुक्ष्म ढंगले लागेको पनि बताईन्छ । त्यसोत सुविधानगर टोल सुधार समितिका अध्यक्ष खरेलपत्नी सुमित्रा रहेको पनि बताईन्छ ।

अर्को रोचक कुरा त के छ भने यो प्रकरणमा समाजवादी पार्टीका नेत एवं वर्तमान सरकारका शहरी विकासमन्त्री इस्तियाक राई पनि तानिएका छन् । मन्त्री राई पीडित महिला शाहीसँग जोडिएर तानिएका होईनन् । तथापी मन्त्री राई पनि बयानका लागि प्रहरी कार्यालय देखि अदालतसम्म धाउनुपर्ने देखिएको छ ।

पूर्वसभामुख महराले उक्त प्रकरणमा आफू दोषी नभएको भन्दै घटना भएको समयमा आफू रोशनीको डेरामा नभएको जिकिर गर्दै उक्त समयमा आफू शहरी विकासमन्त्री राईसँग रहेको कुरा बयान दिने क्रममा उल्लेख गरेपछि सरकारी वकिलको कार्यालय काठमाडौले मन्त्री राईसँग पनि बयान लिने तयारी गरिरहेको बताईन्छ ।

प्रतिक्रिया दिनुहोस्