काङ्ग्रेसमा ‘पदाधिकारी’ विवाद मिलाउने प्रयास जारी



काठमाडौं : नेपाली काङ्ग्रेसको विधान मस्यौदामा पदाधिकारीको सङ्ख्या र चयन प्रक्रियाबारे सहमति खोज्न शीर्ष नेताको प्रयास जारी छ । 

लामो रस्साकस्सीपछि मङ्गलबार राति शीर्ष नेताबीच पदाधिकारीको सङ्ख्या र चयन प्रक्रियाका विषयमा सहमति भएको थियो । उक्त सहमतिमा बुधबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा केही केन्द्रीय सदस्यले समावेशितालाई सम्बोधन गर्नुपर्ने माग गरेपछि त्यसलाई समेट्नेबारेमा आज बिहानदेखि छलफल जारी छ । 

शीर्ष नेतृत्वले यसअघि विधानमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, दुई सहमहामन्त्री र एक कोषाध्यक्षसहित आठ पदाधिकारी रहने र कोषाध्यक्षबाहेक सबै पदाधिकारी निर्वाचित हुने सहमति गरेको थियो । साथै कोषाध्यक्ष निर्वाचित केन्द्रीय सदस्यमध्येबाट सभापतिले मनोनयन गर्ने र कुल १६१ सदस्यीय केन्द्रीय समिति हुने सहमति भएको थियो । 

बिहीबार यसअघिको सहमतिबाहेक एक उपसभापति सभापतिबाट मनोनीत हुनुपर्ने र सहमहामन्त्रीको सङ्ख्या सात पुर्‍याइ समावेशीताका ‘क्लष्टर’ राख्नुपर्ने प्रस्तावमा छलफल भए पनि सहमति हुन सकेको छैन । 

पार्टी केन्द्रीय सदस्य मीन विश्वकर्माले सहमति हुन नसकेको विषय मिलाउन शीर्ष नेताबीचको प्रयास जारी रहेको जानकारी दिँदै सहमतिपश्चात् आजै केन्द्रीय समिति बैठक बसेर विधान मस्यौदा प्रतिवेदन पारित गरिने बताए ।  

केन्द्रीय समितिबाट पारित विधान मस्यौदा प्रतिवेदन आज रातभरिमा छापेर शुक्रबारको महासमिति बैठकमा पेस गर्ने काङ्ग्रेसको तयारी छ । काङ्ग्रेसमा संस्थापन पक्ष पदाधिकारी सङ्ख्या धेरै बढाउन नहुने र बढाए पनि सबैको निर्वाचन गर्न नहुने पक्षमा छ । 

संस्थापनइतर पक्षले भने केन्द्रीय कार्यसमितिको सङ्ख्या बढाएसँगै पदाधिकारी सङ्ख्या पनि बढाउनुपर्ने र सबै पदाधिकारी निर्वाचित हुनुपर्ने पक्षमा तर्क गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस्