विराटनगरमा भेटिए एउटै नम्बर प्लेटका दुई मोटरसाइकल



विराटनगर : विराटनगर-९ हिमालय हल अगाडिबाट बिहीबार दिउँसो एउटै नम्बर प्लेटका दुईवटा एभेन्जर मोटरसाइकल भेटिएका छन् । भेटिएको मोटरसाइकल नियन्त्रणमा लिएर अनुसन्धानका लागि जिल्ला ट्राफिक कार्यालय मोरङमा राखिएको छ । 

 

विराटनगर ९ का दीपकराज जोशीले आफ्नो मोटरसाइकलसँग मिल्ने नम्बर प्लेट अर्को मोटरसाइकलमा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

 

 प्रहरीले जोशीले दिएको सूचनाका आधारमा विराटनगर ९ हिमालय हल अगाडिबाट उस्तै नम्बर भएको अर्को को १६ प ४६१४ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको हो । 

 

सडकमा पार्किङ गरिरहेको अवस्थामा मोटरसाइकल फेला परे पनि कसको हो भन्ने बारेमा पुष्टि भइनसकेको प्रहरीले जनायो ।  

 

‘मेरै जस्तो नम्बर प्लेट भएको अर्को पनि मोटरसाइकल बजारमा चल्ने गरेको जानकारी दुई सातादेखि पाइरहेको थिएँ,’ जोशीले भने, ‘आज (बिहीबार) बजारमा पार्किङ गरिरहेको देखेपछि प्रहरीलाई खबर गरेको हुँ ।’ आफूले चलाउने मोटरसाइकल भने यातायात व्यवस्था कार्यालयमा दर्ता रहेको उनले सुनाए । 

 

‘मोटरसाइकल पार्किङ गरेर एक युवा पसलमा छिरेको सम्मको जानकारी पाइयो,’ मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक शिवकुमार पोखरेलले भने, ‘त्यसपछि खोजी थालिए पनि ती युवालाई फेला पार्न सकिएन ।’ 

 

उक्त मोटरसाइकलको खोजी गर्दै बिहीबार साँझ म्म कोही पनि ट्राफिक कार्यालयमा नआएको उनले बताए । 

 

पोखरेलले दुबै मोटरसाइकलको नम्बर प्लेट मिले पनि इन्जिन र चेसिस नम्बर भने फरक–फरक रहेको जनाए । उनले प्रहरीलाई खबर गर्ने जोशीको भने मोटरसाइकलको सबै कागजपत्र चुस्त दुरुस्त रहेको जानकारी दिए । 

 

‘अर्को व्यक्ति भने सम्पर्कमा नआएका कारण चोरी गरिएको मोटरसाइकल प्रयोग गर्ने क्रममा जोशीको मोटरसाइकल नम्बरसँग मेल खाएको हुन सक्छ,’ पोखरेलले भने, ‘हैन भने बिक्री गर्ने सोरुमको कमजोरीका कारण पनि यस्तो भएको हुन सक्छ ।’

 

 साँझ सम्ममा कोही पनि व्यक्ति मोटरसाइकलका बारेमा खोजी गर्दै प्रहरी कार्यालयसम्म नपुगेका कारण उक्त मोटरसाइकल चोरीकै हुनसक्ने आशंका गर्ने ठाउँ धेरै रहेको उनको भनाइ छ । उनले यस विषयमा आवश्यक अनुसन्धान थालिएको जानकारी दिए । 

 

प्रतिक्रिया दिनुहोस्