प्रचण्डले ‘ओली सरकार’ भनेकोमा नेता यादवको आपत्ती



जनकपुरधाम : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य समेत रहेका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले नेकपाले पछिल्लो समय इमान्दार नेता कार्यकर्तालाई सही जिम्मेवारी नदिएको आरोप लगाएका छन् ।

धनुषाको महेन्द्रनगरमा नेकपाका प्रदेश सांसद शत्रुधन महतोले हिजो सोमवार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले पार्टीभित्र संघीयता, गणतन्त्र र समावेशी समानुपातिक विरोधीहरु सल्बलाउन थालेको भन्दै आपत्तीसमेत जनाए ।

पैसा र पावरको बलमा होइन, काम गरेर कम्युनिष्ट बनौं । उनको आग्रह थियो, जनताको अधिकारका लागि लडाइँ लड्ने मात्र कम्युनिष्ट हुन्छ । पार्टीको संगठन विधि र विधानलाई बेवास्ता गर्दै मन्त्री र पहुँचवाला नेताहरु सत्ता, शक्तिको दुरुपयोग गरी धन आर्जनतर्फ लागेको भन्दै यादवले इमान्दार नेता कार्यकर्ताहरुलाई पार्टीले पाखा लगाएको समेत भन्न भ्याए ।

उक्त कार्यक्रममा यादवले नेकपाका अध्यक्ष प्रचण्डले ओली सरकार भन्ने गरेको प्रति आपत्ति जनाए । उनले भनाई थियो– ‘अध्यक्ष प्रचण्डले ओली सरकार भनेको सुन्दा अचम्म लाग्छ, सरकार नेकपा हो कि ओलीको ?’

यादवले नेकपाका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सम्पत्ती सार्वजनिक गर्ने घोषणाको प्रशंसा गर्दै स्वच्छता र सदाचारीका लागि सबैको सम्पत्ती शुद्धीकरण हुन आवश्यक रहेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्