श्रीलङ्कामा तीस सदस्यीय मन्त्रीपरिषद् गठन



एजेन्सी : श्रीलङ्काका राष्ट्रपति मैत्रिपाला सिरिसेनाले बिहीबार तीस जनालाई मन्त्रीको रूपमा नियुक्त गरेका छन् । प्रधानमन्त्री रनिल विक्रमासिङ्घेसँगको सात हप्ता लामो संघर्षपछि राष्ट्रपति सिरिसेनाले मन्त्री नियुक्त गरेका हुन् । 

सर्वोच्च अदालतले संसद् विघटन गर्न नमिल्ने अन्तिम फैसला सुनाएपछि उनले आफैँले अपदस्त गरेका विक्रमासिंघेलाई गत आइतबार प्रधानमन्त्रीमा पुनः नियुक्त गरेका थिए ।  

राष्ट्रपति सिरिसेनाले गत अक्टोबर २६ तारिखका दिन तत्कालीन प्रधानमन्त्री विक्रमासिङ्घेलाई अपदस्त गरेर पूर्व राष्ट्रपति महेन्दा राजापाक्षेलाई नियुक्त गरेका थिए । तर संसद् र सर्वोच्च अदालतले उनको यो कदम गलत र अवैधानिक भएको भन्दै मान्यता नदिएपछि उनी पुरानै अवस्थामा फर्किनु परेको हो । 

आफैँले हटाएको प्रधानमन्त्रीलाई फेरि नियुक्त गर्नुपरेपछि राष्ट्रपति सिरिसेनालाई काम गर्न गाह्रो हुने ठानिएको छ ।

प्रतिक्रिया दिनुहोस्