‘प्रमुख सचेतकमाथि कुटपिटको खबर भ्रामक’



जनकपुरधाम : राष्ट्रिय जनता पार्टी अध्यक्षमण्डलका संयोजक राजेन्द्र महतोले पार्टीभित्र कुनै किसिमका विवाद र नेताकार्यकर्ताबीच मनमुटाव नरहेको दाबी गरिरहेकै बेला तत्कालीन तमलोपा र तत्कालीन सद्भावना पार्टीका नेताबीच चर्काचर्की भएको छ । 

तत्कालीन तमलोपा र तत्कालीन सद्भावनालगायत थप चार मधेसकेन्द्रित दलबीच एकीकरण भएर तमलोपा गठन भएको थियो । एकीकृत पार्टीमा भने पहिलेका छवटा दलका नेताकार्यकर्ताबीच अझै भावनात्मक एकता हुन सकेको छैन । 

पार्टीभित्र केन्द्रीय नेताहरूमा वर्चस्वको लडाइले तीव्रता पाएसँगै जिल्ला तहमा समेत तत्कालीन छ पार्टीका नेताहरूले एकअर्कामाथि हिलो छ्याप्ने क्रम रोकेका छैनन् । यसैक्रममा प्रदेश २ संसद्मा राजपाका प्रमुख सचेतक परमेश्वर साहलाई पार्टीकै केन्द्रीय सदस्य सञ्जय चौधरीले कुटपिट गरेको खबर सार्वजनिक भएको छ । 

पार्टी केन्द्रीय सदस्य सञ्जयकुमार चौधरीले बुधबार जनकपुरधामको मधेस भवनस्थित भौतिक पूर्वाधार तथा विकास मन्त्री जीतेन्द्र सोनलको सरकारी आवासमा प्रमुख सचेतक साहलाई कुटेको समाचार विभिन्न सञ्चारमाध्यममा आएका छन् । चौधरी पार्टीभित्र चौधरी समर्थित केन्द्रीय सदस्य हुन् भने प्रमुख सचेतक साहको पृष्ठभूमि तत्कालीन तमलोपासँग जोडिएको छ । 

यता उक्त समाचारलाई कथित सूचनाको संज्ञा दिँदै त्यसलाई भाइरल गर्न पैसाको चलखेल भएको आरोप साहपक्षका नेताहरूले लगाएका छन् । राजपाका स्थानीय नेता धीरेन्द्रबहादुर सिँहले हुँदै नभएको घटनाबारे समाचार प्रवाह गर्न पैसाको ‘चलखेल’ भएको द नेपालटपका संवाददाता घनश्याम मिश्रलाई बताए । 

यता प्रमुख सचेतक साहले भने आफूमाथि कसैबाट कुटपिट नभएको र आफूलाई बदनाम गर्न अतिरञ्जित समाचार प्रकाशन गरिएको बताए । 

यद्यपि सोनल निवासमा भने महतो र महन्थ ठाकुर पक्षबीच भनाभन भएको थियो । 

यस विषयमा थप जानकारीका लागि निकै प्रयत्न गर्दा पनि कुटपिट गर्ने भनिएका चौधरीसँग सम्पर्क हुन सकेन ।  

 

प्रतिक्रिया दिनुहोस्