राष्ट्रपति भण्डारीलाई भेट्न नपाएपछि जापानका नेपालीको यस्तो छ दुखेसो



टोकियो : राजकीय भ्रमणमा जापान पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रत्यक्ष रूपमा कुराकानी गर्न नपाएको भन्दै नेपाली समुदायका अगुवाहरूले खिन्नता व्यक्त गरेका छन्।

सम्राट नारुहितोको राजगद्दी आरोहण समारोहमा भाग लिन गएकी राष्ट्रपति भण्डारीले मङ्गलवार जापानका प्रधानमन्त्री सिन्जो आबेसँग द्विपक्षीय भेटवार्ता गरेकी थिइन्।

उनले टोकियोमा भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग पनि भेटवार्ता गरेकी थिइन्। झन्डै ९० हजार नेपाली बसोबास गर्ने जापान नेपालको एउटा प्रमुख विकास साझेदार हो।

राष्ट्रपति भण्डारीले आफ्नो भ्रमणका क्रममा जापानमा रहेका नेपाली समुदायलाई प्राथमिकतामा नराखेको गुनासो त्यहाँ बसिरहेका नेपालीले गरेका छन्।

तर राष्ट्रपतिको सम्मानमा आयोजित रात्रिभोजमा सबैलाई बोलाइएको र अन्तिम समयमा गैरआवसीय नेपाली सङ्घले आफैले आयोजना गरेको अन्तरक्रिया रद्द गरेको टोकियोस्थित नेपाली दूतावासले बताएको छ।

अभिभावक भएर कुरा सुनिदिएको भए हुन्थ्यो

त्यहाँ ११ वर्षदेखि कार्यरत सरिता ढकालले जापान सरकारबाट राष्ट्रपति भण्डारीले सम्मान पाएको जस्तो देखिए पनि नेपाली समुदायले आफ्नो देशको राष्ट्रपति जापानमा आएको अनुभूति गर्न नपाएको सुनाइन्।

उनले भनिन्, ूपहुँच भएका केहीलाई राजदूतावासले आयोजना गरेको रात्रिभोजमा बोलाइएको थियो। तर जनताले नजिकबाट भेट्न, आफ्ना कुरा राख्न वा फोटो खिचाउन पनि पाएनन्। त्यस्तो मौका नमिल्दा साथीहरू दुःखी हुनुभयो। उहाँ यहाँको नेपाली समुदायमा घुलमिल भइदिएको भए धेरै आभारी हुने थियौँ।

ूहामीले पठाएको रेमिट्यान्सले देश चलिरहेको छ। उहाँ त देशको अभिभावकजस्तो मान्छे हाम्रा कुरा सुनिदिनुभएको भए राम्रो हुन्थ्यो। त्यो भएन। हामीलाई दुःख लागेको छ।ू

सङ्घीय समाजवादी पार्टीको जापान सञ्जालकी अध्यक्ष समेत रहेकी उनले रात्रिभोज राजकीय शैलीकै भएको र जापानमा ठूलो सङ्ख्यामा रहेका नेपाली विद्यार्थी र कामदारको पहुँच बाहिर हुने खालका कार्यक्रम आयोजना गरिएको टिप्पणी गरिन्।

उनले थपिन्, ूएउटा साधारण हलमा भए पनि नेपाली समुदायसँगको अन्तरक्रिया राख्नुपर्थ्यो। साधारण मान्छेले पनि सहभागी हुन पाउने र कुरा राख्न पाउने अवस्था हुनुपर्थ्यो। त्यसो नहुँदा राष्ट्रपति आएको हामीले महसुस नै गर्न पाएनौँ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विदेश भ्रमण गर्दा आफ्ना देशका नागरिकसँगको संवादलाई प्राथमिकता दिने गरेको उनले सम्झिइन्।

उनले भनिन्, मलाई राजदूतावासले व्यवस्थापन गर्न नसकेर यस्तो समस्या देखियो जस्तो लाग्दैन। राष्ट्रपति स्वयम्‌ जागरुक हुनुपर्ने हो। आफ्नो देशका नागरिकसँग भेट्ने र अन्तरक्रिया गर्ने विषय भित्रबाटै आउनुपर्ने कुरा हो। अलिकति राजकीय भावना हावी भएको हामीले महसुस गर्‍यौँ।

फूल दिएर स्वागत गर्‍यौँ, कुरा राख्न पाएनौँ

जापानस्थित गैरआवसीय नेपाली सङ्घका अध्यक्ष देवीलाल भण्डारीले पनि आफूले फूलको गुच्छा दिएर राष्ट्रपति भण्डारीलाई स्वागत गर्ने बाहेक अरू कुरा राख्ने मौका नपाएको बीबीसीलाई बताए।

उनले भने, ूहामीले राष्ट्रपतिको सम्मानमा दिवाभोजसहित अन्तरक्रिया गर्ने योजना बनाएका थियौँ। तर उहाँले त्यही बेला जापानी प्रधानमन्त्रीसँग भेट्नुपर्ने भयो। राजकीय भ्रमण भएको र निकै व्यस्त हुनुभएकाले हामीले वहाँलाई डिस्टर्ब गर्न चाहेनौँ।ू

उनले नेपाली दूतावासले आयोजना गरेको रात्रिभोजमा नेपाली र जापानी नागरिक गरी दुई सयभन्दा बढी सहभागी भएको र नेपाली समुदाय लक्षित अलग्गै कार्यक्रम गर्न नसकिएको उल्लेख गरे।

उनले भने, गैर आवसीय नेपाली सङ्घका निवर्तमान अध्यक्ष भवन भट्टले र मैले उहाँ टोकियोमा ओर्लिएपछि फूलको गुच्छा दिएर स्वागत गर्ने मौका पायौँ तर कुनै किसिमको कार्यक्रम मिलाउन सकेनौँ।ू

राष्ट्रपति भण्डारीसमक्ष जापानमा रहेका लगभग ९० हजार नेपालीका मुद्दाहरू राख्ने योजना बनाएको भए पनि त्यो पूरा हुन नसकेको उनको भनाइ छ।

उनको भनाइ छ, कर र बीमामा अरू देशका विद्यार्थीलाई जापानमा धेरै सहुलियत छ। नेपालका विद्यार्थीले पूरै कर र बीमा तिर्नुपर्छ। बाङ्ग्लादेशका विद्यार्थीलाई २५ प्रतिशत कर लाग्छ भने हामीलाई १०० प्रतिशत लाग्छ। नेपाल सरकारले यो तहको भ्रमणमा कुरा राख्ने हो भने एउटा हुन सम्झौता मुस्किल थिएन।

जापानमा झन्डै ३५ हजार नेपाली विद्यार्थी भएको बताइन्छ।

त्यसबाहेक जापानमा विभिन्न कम्पनीहरू खोलेर रेस्टुराँ लगायतका व्यवसाय सञ्चालन गरिरहेका १० हजारभन्दा बढी नेपालीहरूको व्यवसाय विविधीकरणमा पनि राष्ट्रपति भण्डारीको भ्रमणले टेवा दिन सक्ने आफूलाई लागेको भण्डारी बताउँछन्।

जापान सपना
उनले भने, ूअहिले नेपालबाट ओशाकाका लागि सिधा उडान शुरू भएको छ। नेपालका सामानहरू यहाँ ल्याएर विक्री गरौँ भन्ने व्यवसायीहरूको चाहना छ। राष्ट्रपतिको तहमा भ्रमण हुँदा यी विषयहरू पनि उठेका भए त्यसले हामीलाई फाइदा पुग्थ्यो।तर यस पटक त्यो मौका गुम्यो।ू

राष्ट्रपति भण्डारीलाई जापानमा उच्चसम्मान
तर टोकियोस्थित नेपाली राजदूत प्रतिभा राणाले बीबीसीसँग कुरा गर्दै राष्ट्रपति भण्डारीको राजकीय भ्रमण सफल भएको र उनले जापानमा ठूलो सम्मान पाएको बताइन्।

ूजापानी प्रधानमन्त्रीले उच्च प्राथमिकतामा राखेर हाम्रो राष्ट्रपतिलाई स्वागत गर्नुभएको छ। उहाँले राज्यारोहणको पहिलो दिन नै हाम्रो राष्ट्रपतिलाई भेट्नुभयो अनि १० मिनेट जति कुरा गर्ने भनिए पनि २० मिनेटसम्म कुराकानी गर्नुभयो। हाम्रो राष्ट्रपतिले उहाँलाई नेपालको भ्रमणमा आउन आमन्त्रण गर्नुभएको छ र उहाँ आउनु पनि हुन्छ होला।

राणाको भनाइ छ, जापानी प्रधानमन्त्रीसँग द्विपक्षीय सहयोगका विषयमा छलफल भयो। सुरुङ्ग मार्गको उद्घाटन भएको भन्दै राष्ट्रपतिले धन्यवाद दिनुभयो र भविष्यमा पर्यटनको क्षेत्रमा मद्दत गर्न आग्रह गर्नुभयो।


जापानी प्रधानमन्त्रीको कार्यालयका अनुसार प्रधानमन्त्री आबेले नेपालको दिगो आर्थिक विकास, क्षेत्रीय शान्ति र स्थिरताका लागि महत्वपूर्ण भएको बताएका थिए।

उनले १२ वर्षपछि काठमाण्डू र ओशाकाबीचको सिधा उडान सुरू भएकोमा खुशी व्यक्त गर्दै आफूले नेपालको मानव संसाधनलाई जापानमा उपयुक्त रूपमा स्वागत गर्ने उल्लेख गरे।

आबेले नेपालको आर्थिक विकासका लागि पूर्वधारका क्षेत्रमा जापानी प्रविधि र सीप उपलब्ध गराउन तयार रहेको पनि धारणा राखेका थिए।

जापानले नेपालसहितका ११ देशबाट ३ लाख ५० हजार कामदार पाँच वर्षमा भित्र्याउने घोषणा गरेको छ।

जापानी प्रधानमन्त्रीसँगको भेटमा राष्ट्रपति भण्डारीले कामदार भित्र्याउने कुराले नेपाली युवाहरूलाई रोजगारीको अवसर दिने र देशलाई उन्नतिको बाटोमा डोर्‍याउने धारणा राखेको राणाले जानकारी दिइन्।

राजदूत राणाले रात्रिभोजसहितका कार्यक्रममा नेपाली समुदायको राम्रो उपस्थिति रहेको र त्यो कार्यक्रम सफल भएको बताइन्।

उनले भनिन्, एनआरएन चुनावमा गएकोले उहाँहरूले पहिला नै गर्ने भनेको कार्यक्रम व्यवस्थापन गर्न सक्नुभएनछ। उहाँहरूले नै रद्द गर्‍यौँ भनेर हामीलाई भन्नुभएको थियो। राष्ट्रपतिज्यूले जापानमा रहेका नेपाली समुदायप्रति आफू खुसी रहेको र नेपालीहरूको प्रगति हेर्न चाहेको बताउनुभएको छ। उहाँले नेपाललाई सघाउन पनि त्यहाँ रहेका नेपालीहरूलाई आह्वान गर्नुभएको थियो।

आइतवार अबेर राति जापान पुगेकी राष्ट्रपति भण्डारी बुधवार स्वदेश फर्कने कार्यक्रम छ।

राष्ट्रपतिको भ्रमणदलमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र सचिव शङ्करदास बैरागीसहितका अधिकारी सम्मिलित छन्। बिबिसीबाट

प्रतिक्रिया दिनुहोस्