आलम छुट्ने डरले पीडित आतंकित



रौतहट : राजपुर बमकाण्डका पीडितहरू अहिले त्रासद जीवन बाँच्न बाध्य छन्। सो बमकाण्डका मुख्य आरोपित सांसद महम्मद आफताब आलम असोज २६ गते पक्राउ परेसँगै विभिन्नखाले धम्कीहरू आउन थालेको भन्दै पीडितहरूमा डरको स्थिति पैदा भएको हो।

आलम थुनामुक्त भए आफूहरूलाई फेरि दुःख दिने डरले घटनाका पीडित, प्रहरीलाई बयान दिने र तिनका आफन्तहरू थर्कमान भएका हुन्।

बमकाण्डमा मारिएका पिन्टु भनिने त्रिलोकप्रताप सिंहका दाजु सत्येन्द्रप्रताप सिंह आफूहरू मुस्किलले दुई घण्टा पनि सुत्न नसकेको बताउँछन्।

आलम थुनामुक्त भए आफूहरू मारिने त्रासले निदाउन नसकिएको उनको भनाइ छ। त्रिलोकका पिता ७९ वर्षीय श्रीनारायण सिंह छोरा मारिएपछि कारबाहीको माग गर्दै निरन्तर विभिन्न अड्डा धाइरहेका छन्।

आफूले पहिलेदेखि नै विभिन्न धम्की सहँदै आएकाले खासै डर नलागे पनि आलम पक्राउ परेपछि भने केही गरिहाल्ने हुन् कि त्रास पैदा भएको उनी बताउँछन्।

त्रिलोककी ७५ वर्षीया आमा कमलादेवी सिंह आलमले सजाय पाए भने मात्र आफूहरू ढुक्कसाथ बाँच्न सक्ने नत्र मारिन सक्ने बताउँछिन्।

बम काण्डमै मारिएका ओसी अख्तरकी आमा रुक्साना खातुनलाई अज्ञात समूहले गोली हानी गरेको हत्याको छानबिनसमेत हुन नसकेको बताउँदै उनी आलम रिहा भए आफूहरूको हालत पनि उस्तै बनाउने हो कि भन्ने चिन्ताले सताउने गरेको सुनाउँछिन्।

छोराका हत्यारालाई कारबाही गर्नुपर्ने माग राख्दै विभिन्न अड्डा धाउने क्रममा रुक्सानाको दिउँसै हत्या भएकाको सिंहको भनाइ छ। छोरालाई इँटा उद्योगमा जलाउनेहरूलाई कडा कारबाही हुनुपर्ने उनको माग छ। आजको नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्