वामदेवको ‘उपाध्यक्ष’ पद दुई महिनादेखि अलपत्र



काठमाडौं : सचिवालय सदस्य वामदेव गौतमलाई उपाध्यक्ष बनाउने सत्तारुढ नेकपाको प्रस्ताव दुई महिनादेखि अलपत्र परेको छ । गौतमलाई संगठन विभाग प्रमुखसँगै उपाध्यक्ष बनाउने प्रस्ताव स्थायी समितिबाट पारित गर्ने सचिवालयको निर्णय थियो, जुन कार्यान्वयन नहुँदा दुई महिनादेखि गौतमले जिम्मेवारी सम्हाल्न पाएका छैनन् ।

गत ३१ साउनमा बसेको सचिवालय बैठकमा गौतमलाई उपाध्यक्ष बनाउने अध्यक्ष केपी ओलीको प्रस्तावलाई केन्द्रीय सचिवालय बैठकले सर्वसम्मत अनुमोदन गरेको थियो । बैठकको निर्णयमा गौतमलाई उपाध्यक्ष बनाउनका लागि स्थायी समितिमा प्रस्ताव लैजाने भनिएको थियो । तर, अघिल्लो पुस दोस्रो साता बसेको स्थायी समिति बैठक करिब दश महिनासम्म बोलाइएको छैन ।

गौतमलाई उपाध्यक्ष बनाउने प्रस्तावसँगै तेस्रो वरीयतामा रहेका वरिष्ठ नेता माधवकुमार नेपालको मर्यादाक्रम एक तह तल झार्ने र त्यहाँ झलनाथ खनालको वरीयता बढुवा गर्ने सचिवालयले निर्णय गरेको थियो । यी दुवै निर्णयलाई अध्यक्ष पुष्पकमल दाहाल‘ ‘प्रचण्ड’ले पनि साथ दिएपछि नेकपाको शीर्ष तहको समीकरण नै बदलिएको थियो । अध्यक्ष प्रचण्ड, नेपाल, खनाल र गौतम नजिकिँदै गएका वेला पछिल्लो निर्णयसँगै नेपाल एक्लिएका थिए । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा सुरोजङ्ग पाण्डेले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्