महिलामाथि एक्स्काभेटर चलाउने चालकलाई ज्यान मार्ने उद्योगमा मुद्दा



बैतडी : बैतडीको दशरथचन्द नगरपालिका वडा नं ९ मा डोजरले महिला हुत्याउने चालक विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ। स्थानीय गौरी जोशीलाई डोजरले हुत्याएको भिडियो सार्वजनिक भएपछि प्रहरीले नियन्त्रणमा लिएका चालक किशोर बोहराविरुद्ध मंगलबार नै ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए।

 जिल्ला अदालत बैतडीबाट १० दिनको म्याद थपेर बोहरामाथि अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बताए। उनले भने ‘गौरी जोशीको अहिले कोहलपुरमा उपचार भइरहेको छ भन्ने खबर आएको छ। चालकले डोजरले हुत्याएको कुरा बाहिर आएपछि हामीले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेर अनुसन्धान अगाडी बढाएका छौं।’ आरोप पुष्टि भए कानुन अनुसार कारवाही हुने प्रवक्ता उनले स्पष्ट पारे। दशरथचन्द नगरपालिका वडा नं ९ को सुण्न्नाखानदेखि पार्ससम्म जोड्ने सडक निर्माणका विषयमा दुई पक्षबीच विवाद हुँदा झडप भएको थियो। 

झडपका बेला सडक रोक्नुपर्छ भन्ने पक्षका गौरी जोशीलाई डोजरले हुत्याएको र अहिले उनको  कोहलपुरमा उपचार भइरहेको छ। ‘म त गरिब मान्छे, डडेल्धुरा होटेलमा काम गरेर बालबच्चको पालनपोषण गरिरहेको थिएँ, सोमबार यस्तो ब्रजपात आइलाग्यो।’ गौरीका श्रीमान जगदीश जोशीले भने–‘हाम्रै जमिनमा डोजर चलाउने हामीलाई नै मार्न खोज्ने कस्तो जमाना आयो ?’। दोषीलाई दण्डित गरी आफू न्याय पाउनु पर्ने जोशीले माग गरे। यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा भगीरथ अवस्थीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्