निर्मला हत्या प्रकरणः १८ प्रहरीमाथि कारबाही शुरु



काठमाडौं: कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा लापरबाही गर्ने १८ प्रहरीमाथि प्रहरी प्रधान कार्यालयले कारबाही सुरु गरेको छ । एआइजी धीरु बस्नेत नेतृत्वको छानबिन समितिको प्रतिवेदनका आधारमा विभागीय कारबाही सुरु भएको हो ।

 

एआइजी बस्नेत नेतृत्वको समितिले एक एसपी, दुई डिएसपी, तीन इन्स्पेक्टर, चार सइ, तीन हवल्दार, पाँच जवानविरुद्ध कारबाही सुरु भएको हो । छानबिन समितिले १८ जना प्रहरीकै गल्ती प्रस्ट रूपमा औँल्याएको छ । सोही आधारमा प्रहरीको कानुन शाखाले कारबाही प्रक्रिया अघि बढाएको हो ।

 

कस्ता छन् प्रहरीमाथि लागेको आरोप ?

कारबाहीको सिफारिस गरेकामध्ये एसपी दिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीश भट्टलाई सरकारले प्रहरी सेवाबाट हटाउने निर्णय गरिसकेको छ । त्यस्तै, डिएसपी ज्ञानबहादुर सेठीले अनिवार्य अवकाश पाइसकेका छन् । डिएसपी अंगुर जिसी, गणेश सापकोटा, सइहरू रामसिंह धामी, वासुदेव अवस्थीलगायतमाथि कारबाही सुरु भएको स्रोत बताउँछ । सिआइबीबाट खटिएका डिएसपी जिसी र उनको टिममाथि पर्याप्त प्रमाण नहुँदै दिलीपसिंह विष्टलाई अभियुक्तका रूपमा सार्वजनिक गरेको र अपराध कबोल गर्न लगाएको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, सइ अवस्थीले विष्टको सर्ट च्यातेर घटनास्थलमा लगी नक्कली प्रमाण बनाएको छानबिनमा खुलेको छ ।

 

छानबिन समितिले दोषी देखाएका प्रहरीलाई कारबाही गरी सुझाबहरूलाई कार्यान्वयन अघि बढाइएको प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले बताए । घटनास्थलमा तालिमप्राप्त प्रहरी नगएका कारण घटनास्थलको घेराबन्दी हुन नसकेको, निर्मलाका कपडा बरामद नभएको, अम्बालाई सबुतका रूपमा संकलन नगरेको उल्लेख छ । घटनास्थलमा कुकुर प्रयोग गर्न सक्ने अवस्था हुँदा त्यसतर्फ चासो नदिएकोसमेत छानबिनमा औँल्याइएको छ । प्रक्रिया पूूरा नगरी घटनास्थलको जाँच गरेको, अनुसन्धानमा चेन अफ कस्टडी अवलम्बन नगरेको उल्लेख छ ।

 

प्रतिवेदन कञ्चनपुर पठाइने

छानबिन प्रतिवेदन जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पठाइने भएको छ । आठ प्रहरीविरुद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी दर्ता भएकाले प्रतिवेदन पठाउन लागिएको हो । केही प्रहरीले नियतवश रूपमा झुटो प्रमाण संकलन गरी निर्दोष रहेका दिलीपसिंह विष्टलाई अभियुक्त बनाउन खोजेकाले मुद्दा चल्ने सम्भावना रहेको प्रहरी स्रोत बताउँछ ।

 

अपराध अनुसन्धानमा प्रहरीको फरेन्सिक भ्यान 

अपराध अनुसन्धानमा लापरबाही र प्रमाण नष्टको कारण आलोचना खेपिरहेको प्रहरीले मोबाइल फरेन्सिक इन्भेस्टिगेसन भ्यान सञ्चालनमा ल्याएको छ । भ्यानमा घटनासँग सम्बन्धी प्रमाण संकलनका लागि अत्याधुनिक किटहरू छन् । बिहीबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले महानगरीय अपराध महाशाखालाई सो भ्यान हस्तान्तरण गरेका नयाँ पत्रिकामा खवर छ ।

प्रतिक्रिया दिनुहोस्