‘हेलिकप्टर राष्ट्रपतिलाई होइन, विदेशी अतिथिका लागि’



काठमाडौं: सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले भर्खरै डेढ अर्ब लागतमा किनिएको हेलिकप्टर राष्ट्रपतिका लागि नभई विदेशी अतिथि र प्रकोपका बेला उद्धारका लागि प्रयोग हुने बताएका छन् ।

 

मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले हेलिकप्टर किन्न अघिल्लो वर्ष साउन १३ गते नै रक्षा मन्त्रालयले स्विकृति दिएको बताए । ‘दुरुपयोग हुन नदिन गृह मन्त्रालयको लिखित स्वीकृतिमा मात्रै हेलिकप्टर सञ्चालन गर्न पाउने व्यवस्था गरिएको छ,’ उनले भने, ‘अघिल्लो सरकारकै पालामा हेलिकप्टर खरिदका लागि प्रतितपत्र खोल्ने निर्णयसमेत भएको हो ।’

 

उनले हेलिकप्टर खरिदको विषय राष्ट्रपतिलाई जानकारी नभए पनि राष्ट्रपतिको नाम मुछिएकामा असन्तुष्टि व्यक्त गरे । ‘हामीले ल्याएको र सम्मान दिनुपर्ने संस्थालाई बदनाम गर्नु गणतन्त्रप्रतिकै वितृष्णा हो,’ उनले भने, ‘यो हेलिकप्टर राष्ट्रपतिका लागि होइन ।’

 

उनले सरकारका मन्त्रीहरूले इन्धनबापत दोहोरो सुविधा लिने गरेको र आफ्ना स्वकीय सचिवलाई पनि इन्धन सुविधा दिलाउने गरेको भनी सार्वजनिक समाचारप्रति पनि रक्षात्मक बने । ‘मन्त्रीहरूको सुविधा तोकिएको मापदण्डअनुसार नै भएको हो,’ उनले भने, ‘दोहोरो सुविधा परेको भए विचार गर्नुपर्छ ।’

 

मन्त्री बाँस्कोटाले कतिपय कानुन र नियम अभावमा पनि सरकारको काम अडकिएको भन्दै अब सुरु हुने हिउँदे अधिवेशनमा ५० बढी कानुन पास गर्ने तयारी भएको जानकारी गराए । उनका अनुसार संसद्मा १२ वटा विधेयक दर्ता भइसकेका छन्, १८ विधेयक कानुन मन्त्रालयबाट स्वीकृत भइसकेका छन् र १३ विधेयक रायका लागि कानुन मन्त्रालयमा छन् । ‘यो हिउँदे अधिवेशनलाई विधेयक अधिवेशनका रूपमा सफल पार्ने सरकारको लक्ष्य छ,’ उनले भने, ‘कतिपय कानुनका अभावमा सरकारको काम रोकिएका छन् ।’

 

उनले अहिले संघीयताको कार्यान्वयन चरण रहेकाले कतिपय काममा ढिलाइ हुन सक्ने स्विकारे । ‘संघीय, प्रदेश र स्थानीय सरकारबीच अन्तरविरोध भएको विषय उठिरहेको थियो,’ उनले भने, ‘पहिल्यै एकल र साझा अधिकार नटुंगिएकाले केही समस्या भए । यो विषय टुंग्याउन कार्यदल बनेको छ ।’ उनले अन्तर परिषद् समन्वय बैठक एक सातामा दुईपटक बसेको भन्दै २९ वटा विषयमा संघीय र प्रदेश सरकारको अधिकार बाँडफाँट टुंगिने क्रममा रहेको जानकारी दिए ।

 

मन्त्री बाँस्कोटाले कर्मचारी समायोजन विधेयकको विषयलाई लिएर सरकारी कर्मचारीले आन्दोलन गर्नुको तुक नभएको बताए । ‘विधेयकको आफूअनुकूल व्याख्या भएको देखिन्छ,’ उनले भने, ‘विधेयकमा हुँदै नभएको विषय अनुमान गरेर आन्दोलन भएको छ ।’ उनले विधेयकमा स्थानीय तहमा खटिएका कर्मचारी संघमा आउन नपाउने व्यवस्था नभएको बताए ।

 

काम गर्न नसकेको भन्दै सरकारको आलोचना भए पनि उनले तीनै तहको सरकारले केही न केही काम गरिरहेको दाबी गरे । ‘हामीले केही गर्दैछौं,’ उनले भने, ‘केही काम भएका छन् ।’

 

मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न हरेक साता हुने पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटा बिहीबार रक्षात्मक देखिएका हुन् । यो साता बसेको मन्त्रिपरिषद् बैठकमा संसदको हिउँदे अधिवेशन बस्न राष्ट्रपतिलाई सिफारिस गर्नेबाहेक अन्य महत्त्वपूर्ण निर्णय नभएकाले निर्णय सुनाउन उनले धेरै समय खर्चिएनन्, बरु सरकारमाथि आरोपको खण्डन गर्न धेरै समय खर्चिए ।

 

उनले राष्ट्रपतिलाई महँगो हेलिकप्टर खरिद गरिएको विषयदेखि कानुनविपरीत मन्त्री र तिनका स्वकीय सचिवलाई थप सरकारी इन्धन सुविधा दिइएको भन्दै सार्वजनिक समाचारप्रति आफैंले स्पष्टीकरण दिएका कान्तिपुरमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्