आलमको भाईलाई किर्तेमा समाउदा राजीनामा दिनुपर्यो



केशबहादुर शाही, पूर्वडिआइजी

० आफ्ताव आलम नसमात्ने एसपीमध्येमा तपाईंको नाम पनि परेको छ । किन समात्नुभएन ?

– मेरो जिन्दगी बुझ्दै जानुभयो भने अरु धेरै कुरा पाउनुहोला । पुलिसमा जागिर खाएर केशबहादुरले एउटा पनि निर्दोषलाई थुनेको र अपराधमा मुछिएर समात्नुपर्ने मान्छेलाई भेट्दाभेट्दै छोडिदिएको एउटामात्रै प्रमाण ल्याउनुभयो भने यो धर्तिमा जे–जस्ता कानुन र सजायँको व्यवस्था छ, सबै व्यहोर्न तयार छु । किर्ते मुद्दामा त आफ्ताबको भाइ महतावलाई समातेको हुँ नि त्यसबेला उनको भाइलाई समात्नु भनेको उनलाई समात्नुजत्तिकै मुश्किलको कुरा थियो ।

० भाइलाई किन समाउनुभएको ?

– उसले आफ्नो परीक्षा अरु कसैलाई दिन लगाएको थियो । त्यसलाई कानुनले किर्ते भन्छ । यसैमा समातेर ल्याएँ ।

० धाक, धम्की कत्तिको आयो ?

– पुलिसको जागिरमा धाक, धम्कीका कुरा अनेकन हुन्छन्, मुख्य कुरा मैले कानुनविपरीत काम गरें कि गरिनँ भन्ने हो । रौतहटजस्तो ठाउँमा, त्यो बेला मन्त्रीको भाइलाई समातिसकेपछि धाक, धम्की आउनु मामुली हुन् । मलाई राज्यले ‘धम्कीसँग डराएर भाग्’ भनेर पठाएको त होइन !

० त्यहाँको स्थिति के हो ?

– यो आफ्ताव आलम भन्ने ०५२ सालको उपचुनावबाट सांसद भयो । ऊ त्यहाँको ‘जान्ने–मान्ने’ मान्छेमै गनिन्थ्यो । कांग्रेसका पुराना नेता शेख इद्रिस यसको काका । ०१५ सालदेखिका एमपी (सांसद) । त्यहीँबाट उसले पोलिटिकल स्कुलिङ पाएको हो । शेख मन्त्री हुँदा आफ्ताव पिए थियो । तराईमा के हुन्छ भने, पावरमा बस्ने मान्छेले प्रहरी–प्रशासनतिर आफ्नो पकड राखिराख्ने † कुनै बेला खुमबहादुर खड्काले भन्नुहुन्थ्यो, ‘तराईमा चुनाव जित्ने भनेको बम र बारुदको बलमा हो । रौतहटको अवस्था पनि त्यही थियो । चुनावको बेला डर–धाक देखाउने, प्रतिद्वन्द्वीलाई भागाभाग गराउने । आफ्तावहरु पनि त्यसै गर्थे । त्यस्तो सोसाइटीमा पुलिसिङ गरेर, त्यो लेभलको मान्छेलाई समात्नु, समातेर बजार घुमाउँदै ल्याउनु– इट्स नट अ जोक तर, हामीले ग-र्यौं ।

० यही कारणले तपाईंको बढुवा रोकियो भन्ने चर्चा छ नि !

– जनआन्दोलनपछि मिलिजुली सरकार बन्दा नेपाली कांग्रेसबाट कृष्ण सिटौला गृहमन्त्री हुनुभयो । सिटौलालाई मेरो बढुवा नगराउन अफ्तावले प्रभावित गरेकै हो । म प्रमोशन भएँ भने उसले पार्टी नै छोड्छु भनेको थियो रे । फेरि पुलिसको सरुवा–बढुवामा पोलिटिकल च्वाइस नै हुने गरेको छ । प्रहरी जहिले पनि सिस्टममा चल्नुपर्छ भन्ने मान्यता राख्छु । त्यसैको कारण एआइजीको पद खालि नभएको र डिआइजीको अवधि पाँच वर्ष पूरा भएको अवस्थामा हाँसिखुशी नै घर गएँ । यदि, एसएसपीमा मेरो प्रमोशन नबिग्रिएको भए, उस्तै परे आइजी हुन्थेँ होला । म कुनै पोलिटिकल लिडरको दैलोमा नजाने मान्छे । फेरि अनेकनथरि खुशामद गरी–गरी जागिर खानु नपरोस् भन्ने लाग्थ्यो ।

० यदि आफ्तावको भाइलाई पक्राउ नगरेको भए आज एआइजीबाट रिटायर्ड हुन पाइन्थ्यो भनेर पश्चाताप गर्नुहुन्छ कि ?

– हामीले प्रहरीमा जागिर खाँदा आफ्नो जीवन नै त्यो संगठन र त्यसको जिम्मेवारीमा सुम्पिसकेका हुन्थ्यौँ । त्यत्रा–त्यत्रा द्वन्द्व भए । मरिन्छ भन्ने जान्दाजान्दै पनि कतिपय ड्युटीमा हिँडियो । मतलब, ज्यानको माया नै मारेर पनि प्रहरीसेवाबाट बिचलित भइएन । जब हामीले ज्यानकै माया गरेनौँ भने ज्यानभन्दा प्रमोशन त ठूलो कुरा भएन नि † कुनै अपराधीलाई अपराध गरेकै कारण समातियो, जुन मेरो जागिरको मुख्य दायित्व थियो । त्यो दायित्व निर्वाह गरेकै कारण हुनुपर्ने प्रमोशनचाहिँ दुर्भाग्यपूर्ण नहुनु हो । जागिरमा दुई रुपियाँको पनि कैफियत राखिनँ, एक पाइला पनि गलत बाटो हिँडिनँ– यसैमा गर्व गर्छु । जिन्दगीमा कुनै पनि पुस्तक पढेर वा विश्वविद्यालय गएर नपाइने ज्ञान, शिक्षा र अनुभव प्रहरी सेवामा पाएँ । ती अनुभव कतिपय मीठा भए, कतिपय नमीठा भए । तर, जे–जे भए, ठीकै भए ।

० तपाईं ठकुरी, दरबारियाहरुको मान्छे भनेर पनि बढुवा बिगार्नेहरु सल्बलाएको भनिन्छ । सत्य हो ?

– जातसँग क्षमताको सरोकार हुँदैन । म जन्मले नै ठकुरी । राजा ठकुरी, म पनि ठकुरी भन्ने हो भने त अर्कै कुरा । नभए, म मध्यमवर्गीय परिवारको मान्छे हुँ, आफ्नै दुःखले काम गरेर बाँच्न बाबु–बाजेले सिकाउनुभएको । प्रहरीको जागिरमा ठकुरीलाई यति नम्बर, अरुलाई यति नम्बर भन्ने पनि हुँदैनथ्यो । त्यसैले जे भएँ, क्षमताले नै भएँ । आजसम्म पनि मेरो कुनै किसिमको पोलिटिकल इन्भल्भमेन्ट वा कुनै पावर एक्सरसाइज गर्ने आदत भएन ।

० प्रहरी त अझै पनि सिष्टममा चलेन नि ?

– कुनै दिन आउला, सिष्टममा चल्ने । यदि त्यसो भएन भने हामी नै लड्छौँ, सिष्टम बसाऊ भनेर ।

० संगठन सिष्टममा नचलेरै हो त, आजकल राजीनामा दिनेहरुको संख्या बढिरहेको ?

– मलाई पनि प्रमोशन नहुँदा एकदमै चित्त दुखेको थियो । राजीनामा दिएँ । साथीहरुको प्रेसरमा फिर्ता लिएँ । मैले जागिर छोड्दा अर्को राम्रो मान्छे आउँछ भने त ठीकै हो । मैले छोडेको कारणले खराब मान्छे हावी भयो भने के हुन्छ ? मलाई त्यसबेलाको नेतृत्वका सरहरु र सहकर्मीले यसो भनेका थिए । मैले पनि विचार गरेँ, ठीकै छ, एउटा प्रमोशन बिग्रिए पनि अगाडि राम्रै होला ।

० प्रहरीले सेवा, शर्तअनुसार काम गर्न पाउँदैनन् भन्ने कुरा कत्तिको मान्नुहुन्छ ?

– त्यो सत्य हो ।

० केही घटनालाई लिएर प्रहरीको अपराध अनुसन्धान फितलो भयो भनिन्छ । हो त ?

– सर्कमस्ट्यान्सेसका आधारमा इन्भेष्टिकेशन अगाडि बढ्ने हो । यदि कुनै घटनामा हस्तक्षेप भयो, अनावश्यक दबाब भयो वा अनुसन्धानकर्ताकै नियत खराब भयो भने अर्कै कुरा, नभए प्रहरीलाई अनुसन्धान गर्न कुनै अप्ठ्यारो छैन ।

० निर्मला हत्याकाण्डको अनुसन्धान टुंग्याउन किन ढिलाई भइरहेको छ ?

– पुलिसलाई उसको तरिकाले काम गर्न नदिइएको हो भन्ने लाग्छ । धेरै किसिमका मान्छे, समूहहरुको धेरै किसिमका इन्ट्रेस्ट गाँसियो । त्यसको शिकारचाहिँ प्रहरी बन्न पुग्यो । प्रहरीले त्यो हत्याकाण्डको अनुसन्धान गर्दैन, सक्दैन भन्ने म मान्दिनँ । तर, प्रहरीको कामलाई अरुले हस्तक्षेप गर्नु हुँदैन । कुनै पनि कुरा सत्प्रतिशत भन्ने हुँदैन । डाक्टरले पनि विरामी जस्तोसुकै होस्, हन्ड्रेड पर्सेन्ट ग्यारेण्टी लिँदैन ।

दक्षिण एसियामा नेपाल पुलिसजत्तिको क्यापेबल अर्गनाइजेशन ज्यादै कम छन् । अहिले सिपाही, हवल्दारलाई क्राइम सिन प्रोटेक्सन (दसी प्रमाणको सुरक्षा) को तालिम दिइँदैछ । यस्तो कामले राम्रो परिणाम दिन्छ । कुनै पनि घटना भएपछि सिनियर प्रहरी वा अनुसन्धान टिम तत्कालै नपुगेको हुनसक्छ । जुन युनिट घटनास्थलमा पहिला पुग्छ, उसले त्यहाँ उपलब्ध प्रमाणहरुको सुरक्षा कसरी गर्ने भन्नेबारेमा अहिले बढी गम्भीरताका साथ तालिम दिइँदैछ ।

० निर्मला हत्याकाण्डको अनुसन्धान बिग्रनुमा मिडियाको भूमिका कत्तिको छ ?

– मिडियाका कारण अप्ठेरो परेजस्तो मैले बुझेको छु । कति कुरा ल्याउन हुने ? कति नहुने ? कसलाई उचाल्न हुने ? कति उछाल्ने ? यस्ता कुरा मिडियाले ख्याल गर्नुपर्छ । जघन्य र संवेदनशील घटनाको सफल अनुसन्धानका लागि मिडिया जिम्मेवार भएन भने प्रहरीलाई समस्या पर्छ ।

० रिटायर्ड जीवन कसरी बित्दै छ ?

– अहिले दिपालयमा छु, तर तालिम केन्द्रको कमाण्डेण्टलाई फोनमा भनेको छु कि, एकदिन मेरो क्लास राखिदिनु । हामी १८२५ देखि पुलिसका कुरा सुन्छौँ, प्रहरीका रुपमा समाजमा उभिन्छौँ । यसबीचमा जे–जे जस्ता परिस्थिति आए, ती सबै समयका माग हुन् । अनुसन्धानमा जति पनि जटिलता आए, त्यो समयका कारण हो । आजभन्दा २० वर्षअघि साइबर क्राइमको कुनै कानुन नै थिएन । अहिले प्रत्येक घटना साइबर क्राइमसँग सम्बन्धित हुन थाल्यो । ह्याक गरेर बैंकको खाता तलमाथि पार्ने, एटिएमबाट पैसा चोर्ने– यस्ता अपराध समयको विकासक्रमले ल्याएका हुन् । यस्ता अपराधमा प्रहरीको पहुँच बढाउनु सबभन्दा गम्भीर विषय हो । यत्तिका वर्ष जागिर खाएर जहाँबाट म रिटायर्ड भएँ, त्यो इन्स्टिच्युसनलाई अझ मजबुत बनाउनुपर्छ भन्ने मान्यता राख्छु । त्यसका लागि व्यापार गरेर, अर्को जागिर खाएर हुँदैन । नयाँ प्रहरी भाइ, बहिनीलाई अनुभव सुनाउने, जानेको कुरा सिकाउने काम ग¥यो भने फलदायी हुन्छ । म त्यही काम गर्छु । यो कामबाट फुर्सद भएको बेलामा डोल्मा कन्सल्टेन्सीले क्लास लिन बोलाउने गरेको छ । म त्यहाँ गएर पनि यिनै विषयमा विद्यार्थीलाई पढाउँछु । (जनआस्था साप्ताहिकबाट)

प्रतिक्रिया दिनुहोस्