कर्णालीमा नेकपाको एकता प्रक्रिया सफलतापूर्वक सम्पन्न हुँदै



सुर्खेत : कर्णालीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थानीय कमिटी एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेको छ । नेकपाले सुर्खेतबाहेक सबै जिल्लामा निर्वाचन क्षेत्र, स्थानीय तह र वडा कमिटीका पदाधिकारीका साथै इञ्चार्जसमेत् चयन गरिसकेको छ ।

नेकपा प्रदेश कमिटी सचिव मायाप्रसाद शर्माका अनुसार कर्णालीका सुर्खेतबाहेक बाँकी नौ जिल्लाका प्रतिनिधिसभा, प्रदेशसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटी, स्थानीय तह (गाउँ–नगरपालिका), वडा कमिटीका पदाधिकारी चयन भइसकेको छ । पार्टीको सम्बन्धित जिल्लाकै नेतृत्वले निर्वाचन क्षेत्र र स्थानीय कमिटी गठन गर्नुका साथै नेताहरूको कार्यविभाजन पनि गरेको छ ।

सुर्खेतका जिल्ला सचिव कृष्ण जिसीले तिहारअघि नै एकताका बाँकी काम सम्पन्न गरिने बताएका छन् । यहाँ प्रतिनिधिसभाका दुई, प्रदेशसभाका चार र बाँकी नौवटा स्थानीय तह रहेका छन् । दैलेख जिल्ला कमिटीले मङ्गलबार स्थानीय कमिटीका अध्यक्ष, सचिवका साथै सम्बन्धित स्थानीय तहका इञ्चार्ज पनि तोकेको छ । त्यहाँका ११ स्थानीय तहमध्ये पूर्वएमाले पक्षका ६ तथा पूर्वमाओवादी पक्षका ५ स्थानीय तहको नेतृत्व छन् ।

त्यसै गरी दैलेखमा दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीका पदाधिकारी पनि चयन गरिएका छन् । यसअघि जाजरकोट, कालिकोट, जुम्ला, हुम्ला, मुुग, डोल्पा, रुकुमपश्चिम र सल्यानका स्थनीय तहमा पार्टी एकता भइसकेको थियो ।

प्रतिक्रिया दिनुहोस्