खैरो खन्न छाडेर नेकपा बनाउन सबै जुटौ : नेता महतो



जनकपुरधाम : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य हरिनारायाण महतोले मधेसमा नेकपामा अन्तरविरोध मौलाएको भन्दै नेताहरुलाई एक आपसमा बसेर मतभेद अन्त गर्न सुझाव दिएका छन् ।

दिपावली तथा छठको अवसरमा धनुषामा हिजो (मंगलबार) आयोजित शुभकामना आदनप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता महतोले यस्तो सुझाव दिएका हुन् ।

‘धनुषामा नेकपाका नेताबीच एक–अर्काको खैरो खन्ने प्रवृत्ती मौलाउनु दुःखद कुरा हो’ नेता महतोले भने– ‘एक अर्का विरुद्ध खैरो खन्ने समय नेकपालाई बलियो बनाउन खर्च गर्न सबै जुुटौँ ।’

नेकपामा अन्तरविरोध बढ्दा प्रतिकृयावादीहरु सलबलाएको बताउँदै उनले सरकारले दिनदिनै राम्रो काम गर्दै जान थालेपछि अत्तालिएका प्रतिकृयावादीहरु नेताहरुबीच अन्तरविरोध बढ्दै जाँदा फेरी सलबलाउन थालेको बताए ।

नेकपाका केन्द्रीय सदस्य रामचन्द्र झाले एक सार्वजानिक कार्यक्रममा नेकपाकै अर्का नेता स्थायी समिति सदस्य तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर माहासेठको सम्पत्ति छानविन गरी तत्काल जेल हाल्नु पर्ने अभिव्यक्ति दिएपछि मधेस तरंगित बनेको छ ।

प्रतिकृयावदीहरु नेकपालाई मधेसमा कसरी कमजोर बनाउन सकिन्छ भनेर सक्रिय भइरहेका बेला नेकपाका नेता आरोप–प्रत्यारोपमा उत्रनु दुःखद रहेको नेता महतोको भनाइ छ ।

नेकपालाई मधेस विरोधी भनेर हल्ला चलाइएको जानकारी दिँदै नेता महतोले अहिलेको सरकारले मधेसमा गरेको विकास निर्माणको कामले के पुष्टि भइसकेको छ भने नेकपा र नेकपाले नेतृत्व गरेको सरकार मधेस विरोधी नभई मधेस प्रेमी रहेको बताए । प्रतिकृयावादीले चलाएको हल्लाको पछाडी नलाग्न पनि नेता महतोले नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरे ।

मिथिला नगरपालिकाका मेयर समेत रहेका नेता महतो विगतमा २ पटक ढल्केवर गाउँविकास समितिको अध्यक्षमा पनि निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्