जनकपुरमा चक्रपथ बन्छ : मन्त्री महासेठ



जनकपुरधाम : नेपाल सरकारका भौतिक योजना तथा यातायात मन्त्री रघुविर माहासेठले केन्द्र सरकारले जनकपुरमा चक्रपथ बनाउने गृहकार्य शुरु भएको बताएका छन् ।

दिपावली तथा छठ पर्वको अवसरमा हिजो (मंगलबार) धनुषाको तारापटीमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री माहासेठले सो कुरा बारे जानकारी दिएका हुन् ।

केन्द्र सरकारले जनकपुरमा चक्रपथ बनाउने गृहकार्य शुरु गरेको बताउँदै मन्त्री माहासेठले अब छिट्टै जनकपुरमा चक्रपथ बन्ने बताए ।

सरकार मुलुकको द्रुत विकासमा लागेको बताउँदै केही प्रतिकृयावादीहरु सरकारको काम देखेर अत्तालिएको समेत उनले बताए ।

मन्त्री माहासेठले सरकार कामकै आधारमा जनतामा लोकप्रिय बन्दै गएपछि तिनै प्रतिकृयावदीहरुले सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपि शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मधेस विरोधी रहेको भ्रम छर्न व्यस्त रहेको समेत बताए ।

मन्त्री माहासेठले भने– ‘मधेसले नेकपाका धेरै नेतृत्व मधेसबाटै स्थापित भएका कारण पनि नेकपा कुनै पनि हालतमा मधेस विरोधी हुनै सक्दैन । भ्रममा कोही नपरौँ ।’

तत्काल मन्त्री परिषद पुनः गठन नहुने मन्त्री माहासेठको भनाइ छ ।

यसैबीच बुधबार मन्त्री महासेठले धनुषाको मिथिला नगरपालिका र क्षिरेश्वर नगरपालिका जोड्ने ढल्केवर–जनकपुर सडक खण्डको ट लेन पुलको शिलान्यास गर्दै यहि आर्थिक वर्षमा ७ वटा सुरूंगमार्गको उद्घाटन हुने बताए ।

अब नेपालका पहाडी भूभागहरू सुरूंगमार्गमय बन्ने बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा आफूले सुरूंगमार्ग निर्माणलाई तीव्र बनाउन लागेको बताए ।

उनले यो सरकार विकास निर्माणमा कसैसँग सम्झौता नगर्न प्रधानमन्त्रीको निर्देशन रहेको बताए । उनले भने–‘म पनि काम ढिला गर्ने कसैसँग सम्झौता गर्दिन, काम ढिला गर्नेलाई कावारही गर्छु ।’

प्रतिक्रिया दिनुहोस्