दूध र मासुमा आत्मनिर्भर बन्दै प्रदेश ५



बुटवल : प्रदेश नं ५ लाई दूध र मासुमा आत्मनिर्भर बनाउन विभिन्न प्रयास थालिएको छ । बुटवलस्थित नेपाल लाइभष्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रित आयोजना सहयोग एकाइमार्फत् पशुपालन व्यवसायको व्यवसायीकरण दूध तथा मासु उत्पादन वृद्धि र बजारीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गरेर स्वच्छ मासु र गुणस्तरीय दूध उपभोक्तासमक्ष पु-याउने लक्ष्य लिइएको छ ।

हावापानी अनुकुलन पशु विकास, गुणस्तरीय दूध र मासु उत्पादन, मूल्य शृङ्खलालाई बढवा दिने, व्यावसायिक प्रवद्र्धन र आधुनिकीकरणमा जोड दिँदै आयोजनाले प्रदेश नं ५ को सात जिल्लाका स्थानीय तहमा गाई, भैँसी र बाख्राको पकेट क्षेत्र निर्माण गर्ने विषयमा छलफल गरेको छ । सो आयोजना रुपन्देही, नवलपरासी, पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु र बर्दियामा रहेको छ ।

आयोजनाका वरिष्ठ पशु चिकित्सक डा. पुरुषोत्तम त्रिपाठीका अनुसार आयोजनाबाट मासुमा १० प्रतिशत र दूधमा ५ प्रतिशत प्रगति गर्ने लक्ष्य लिइएको छ । यो योजना देशभरका २८ जिल्लाका २९० गाउँपालिकामा उक्त आयोजना सञ्चालन भएको जानकारी दिँदै कृषकलाई प्रोत्साहित गरेर दूधको उत्पादन बढाउने र स्वच्छ मासु उत्पादन गर्ने आयोजनाको लक्ष्यसँग जोडिएको छ ।

प्रदेश नं ५ का पशुपक्षी निर्देशनालयका निर्देशक तुल्सीराम भण्डारीले आयोजनामार्फत् सबैभन्दा धेरै बजेट कृषकको पहुँचमा हुनुपर्नेमा जोड दिँदै साना फार्ममा पनि लगानी बढाउन सुझाव दिए । उनले करीब १४ प्रतिशत पशु आहारा प्रदेशमा कमी भएको बताए । आयोजनाका पशु चिकित्सक लोकराज भुसालले घाँसमा आधारित पशुपालमा जोड दिँदै घाँसको संस्थागत विकास आवश्यक भएको उल्लेख गरे । उनले घाँसको प्रदेशस्तरीय बीउविजन प्रशोधन केन्द्र दाङमा निर्माण गर्न थालिएको जानकारी दिँदै त्यसबाट प्रदेशभरका कृषक लाभान्वित हुनेसमेत बिताए ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खेमबहादुर हमालले कृषि अनुदान वास्तविक कृषकले पाउन नसकेको उल्लेख गर्दै अनुदानको विषय फितलो भएको आरोप लगाए । प्रदेश नं ५ मा ३६ हजार ६९३ मेट्रिकटन मासु उत्पादन हुँदै आएको छ भने दूध प्रतिवर्ष प्रतिव्यक्ति ६८ लिटर उपलब्ध भएको आयोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्