श्रोत नसुलेको रकम सहित एक भारतीय नागरिक वीरगन्जमा पक्राउ



वीरगन्ज : पर्सा प्रहरीले श्रोत खुलाउँन नसकेको पाँच लाख भन्दा बढी नेपाली रुपैया सहित एक भारतीय नागरिकलाई वीरगन्जबाट पक्राउ गरेको छ ।

भारत बिहार जिल्ला मोतिहारी थाना रामगढवा वडा नम्बर १६ घरभई हाल वीरगन्ज महानगरपालिका १६ नगवा बस्ने ४८ बर्षिय कृष्णमोहन कलवारलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनको साथबाट श्रोत खुलाउँन नसकेको नगद रु ५ लाख ८३ हजार ५ सय ६० रुपैया, सुनको सिक्का २ थान, सुनको गणेश भगवानको लकेट १ थान, विभिन्न बैंकको चेकबुक र भौचर बरामद भएको पर्साका प्रहरी प्रवक्ता विरेन्द्र बहादुर शाहीले बताए ।

ना ५३ प ७१५९ नम्बरको स्कुटीमा सवार कलवार सिमावर्ती शहर भारतको रक्सौल तर्फबाट वीरगन्ज भित्रिदै गरेको अवस्थामा उनलाई रजतजयन्ती चौकमा दुईदिन अगाडी चेकजाँच गर्ने क्रममा प्रहरीले पक्राउ गरेको थियो । कलवार माथि अवैध वित्तिय कारोबार अन्र्तगत जिल्ला अदालत पर्साबाट म्याद थप गरी घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता शाहीले बताए ।

यस्तै प्रहरीले वीरगन्जबाट लागु औषध सहित चारजनालाई बुधबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज १६ नगवाका २४ बर्षिय बिहारी मलिक डोम, झापा मेचि नगरपालिका वडा नम्बर १९ काकडभिट्टाका ३१ बर्षिय बिक्की भुजेल, चितवन भरतपुर महानगरपालिका ८ का २६ बर्षिय संदिप श्रेष्ठ र बर्ष २५ का अनिल गुरुङ्ग रहेका छन ।

लागु औषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्ट प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बिहारीलाई लागु औषध औनरेक्स १५ बोतल सहित पक्राउ गरेको हो । त्यसैगरी भुलेजको साथबाट प्रहरीले लागु औषध औनरेक्स ५ बोतल, नाईट्रोभेट ट्यावलेट ६०० पिस र स्पास्मो १६ क्याप्सुल सहित नियन्त्रणमा लिएको थियो ।

प्रहरीले प्रारम्भीक अनुसन्धान गर्दा भुजेल संग बरामद भएको लागु औषध कारोबारमा श्रेष्ठ र गुरुङ्गको संलग्नता देखिएकोले थप अनुसन्धानको लागि उनीहरुलाई समेत पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक बिरेन्द्र बहादुर शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस्