नेकपाका नेतामाथि विप्लव समूहको हमला



जाजरकोट : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य निरज आचार्यमाथि विप्लव नेतृत्वको माओवादीले आक्रमण गरेका छन् । आचार्य र कर्णाली प्रदेश समितिका सदस्य डम्बरबहादुर सिंहमाथि आज बुधवार विहान बीच बाटोमा आक्रमण भएको हो । जिल्लाको वारेकोट गाउँपालिकामा पार्टीको कार्यक्रममा जाँदै गरेको अवस्थामा बीच बाटोमा आफूहरुमाथि आक्रमण भएको बताएका छन् ।

नेत्रविक्रम चन्द समूहका कार्यक्रताले जिल्लाको नलगाड नगरपालिका खारा र बारेकोट गाउँपालिका–८ लैखमको बीचमा रहेको उकालोमा नेकपाका केन्द्रीय सदस्य नीरज आचार्य र कर्णाली प्रदेश कमिटीका सदस्य डम्बर सिँहमाथि आक्रमण भएको हो ।

आक्रमणमा परी प्रदेशसदस्य सिँहलाई बढी चोट लागेको आचार्यले जानकारी दिनुभयो । चन्द कार्यक्रताले दुवै नेताको मोबाइल फोन कब्जामा लिएका बताएको छ । विद्युतीय धराप राखेको भन्दै खच्चड व्यवसायीलाई नलगाड कालीमाटीबाट लेखमसम्मको बाटोमा हिँड्न नदिएको बताइएको छ । प्रहरीले आक्रमणकारीको खोजी कार्य तीव्र पारेको छ ।

नेकपाको वारेकोट गाउँपालिका समितिका पदाधिकारीको सपथग्रहण कार्यक्रममा जाने क्रममा सोही गाउँपालिका वडा नम्बर ८ लैखमस्थित राहपानी झरना नजिककैको भीरमा केन्द्रीय सदस्य आचार्य र प्रदेश समिति सदस्य सिंहमाथि आक्रमण भएको बताइएको छ।

‘सुरुमा डम्बरबहादुर सिंह भन्ने को हो भन्दै सोधे, अनि मैले म हुँ भन्ने वित्तिकै लठ्ठीले हान्न सुरु गरे’, सिंहले भने। एमालेका नेतालाई बेस्सरी कुटनु पर्छ भन्दै आफू र केन्द्रीय सदस्य आचार्यलाई हिड्न नसक्ने गरि ती युवाले कुटेको सिंहले बताए। आफूलाइ विप्लव नेतृत्वको नेकपाको बटालियन कमान्डर बताउने अर्जुन नाम गरेका ती युवाले आफूहरु दुवै जनालाई एमालेका नेता भनेर गाली गर्दै कुटेको सिंहले बताए। ती युवाको आक्रमणवाट घाइते भएर हिड्न नसक्ने भएपछि वारेकोटको कार्यक्रममा नगएर आफूहरु दल्लीतिर फर्किएको पनि सिंहले बताए।

नेकपा जाजरकोटका अध्यक्ष ढकवीर रानाले घटना निकै दुःखद भएको भन्दै दोषीलाई कडा कारवाही हुनुपर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्