देउवाले फोन गर्दा सचिवहरु थचक्क



काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत विभिन्न संवैधानिक आयोगमा नियुक्तिका लागि सिफारिस गर्ने तयारीका साथ बोलाइएको संवैधानिक परिषदको बैठक परिसदका सदस्य तथा प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाको एक कल फोनका कारण स्थगित हुन पुगेको छ ।

सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तमा गृह सचिव प्रमे कुमार राईलाई, प्राकृतिक स्रोत तथा वित्त आयोगको सदस्यमा अर्थ सचिव राजन खनाल र समावेशी आयोगमा सञ्चार सचिव महेन्द्रमान गुरुङ लगायतलाई सिफारिस गर्ने गरी तयारी गरेको थियो । यसरी आयोगको सदस्य बन्न खुट्टा उचालेर बसेका सचिवहरु देउवाको अनुपस्थित पछि निरास बनेका छन् ।

देउवा हिजो (मंगलबार) अपराह्न कांग्रेस पदाधिकारी बैठक सानेपामा व्यस्त थिए । बैठकमा सभापति देउवाले बैठक छिटो सकेर संवैधानिक परिषदको बैठकमा जान खोजेका थिए । तर बैठकमा सहभागि कांग्रेसका पदाधिकारीले सभापति देउवाले हामीले भने अनुसार केही नहुने त्यस्तो बैठकमा किन जानुपर्यो भन्दै र्याख्र्याख्ती पारेपछि देउवा गएनन् ।

बैठक स्थलबाटै देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरेर आउन नसक्ने जानकारी गराए । ‘परिषदको निर्णयमा सहिछाप गर्नकै लागि मात्रै आउदिन, हाम्रा मान्छे कसैले नियुक्ति पाउँदैन भने किन आउँने ? हामीले भनेको मान्छे पनि नियुक्ती पाउने हो भने म आउँछु’ देउवाले फोनमा प्रधानमन्त्री ओलीलाई भनेका थिए ।

कांग्रेसको माग
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संवैधानिक आयोगहरुमा आफ्नो हिस्सा खोजेको छ । कांग्रेस स्रोतका अनुसार राष्ट्रिय महिला आयोगसहित कम्तिमा तीन वटा आयोगका अध्यक्ष र सबै आयोगमा कम्तिमा एक–एक जना सदस्य पाउनु पर्ने माग कांग्रेसले अघि सारेको छ ।

कांग्रेसले अख्तियारको आयुक्तमा रौतहट नरसंहार घटनाका मुछिएका रौतहटका तत्कालिन एसपी (प्रहरी उपरिक्षक) एवं अवकाश प्राप्त एआईजी जयबहादुर चन्दलाई ल्याउन प्रस्ताव गरेको छ ।

त्यसैगरी कांग्रेसले वित्त आयोगको सदस्यमा पूर्व सचिव कृष्ण ज्ञवाली र गणेश कार्की मध्ये एकलाई ल्याउनुपर्ने प्रस्ताव गरेको छ ।

प्रतिक्रिया दिनुहोस्