नेविसंघले चेतावनी दिँदा देउवा अक्क न बक्क



काठमाडौं : प्रतिपक्षी दल नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का नेताले काँग्रेस नेतृत्वकै विरुद्धमा आमरणअनसन बस्ने चेतावनी दिएका छन् । पार्टीको लोकतान्त्रिक मूल्य मान्यतालाई ध्वस्त पारी विधानविपरीत संघको तदर्थ केन्द्रिय समिति गठन गर्ने चेष्टा गरिरहेको प्रति आपत्ति जनाउँदै नेविसंघले आमरण अनशन बस्ने चेतावनी दिएको हो ।

बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेविसंघका नेताहरुले विधानविपरीत पार्टी नेतृत्वबाट संघलाई नेपाल बृद्ध संघ बनाउने चेष्टा गरेबाट लोकतन्त्रको उपहास भएको आरोप लगाएका छन् । लोकतान्त्रिक मूल्य र मान्यतालाई ध्वस्त बनाउँदै काँग्रेस सभापति शेरबहादुर देउवा नेविसंघलाई बृद्धहरुको संगठन बनाउने अभियानमा लागेको उनीहरुको आरोप छ ।

कार्यक्रममा संघका निवर्तमान केन्द्रिय सदस्य नवराज त्रिपाठीले विधानबमोजिम नै संघ तदर्थ समिति आउनुपर्ने आफूहरुको मुख्य माग रहेको बताएका थिए ।

पत्रकारसामु ‘हाम्रो पार्टीका सभापति शेरबहादुर देउवा पहिलोपटक प्रधानमन्त्री बन्दा ४९ वर्षको हुनुहुन्थ्यो, तर अहिले नेविसंघको तदर्थ समितिको नेतृत्व ५० वर्ष नाघेको व्यक्ति बनाउन खोज्नु गलत हो’ भन्दै नेविसंघका नेताहरुले ‘आफ्नै विधान मिचेर बन्ने केन्द्रिय समितिले साधारण सदस्य कुन नैतिकताका आधारमा बाँड्न सक्छ ?’ भन्दै प्रश्न समेत गरेका छन् ।

नेविसंघ त्रिभुवन विश्वविद्यालय समिति सचिव योगेन्द्र रावलले संंघलाई नेपाल बृद्ध संघ बनाउने कुरा आफूहरुलाई अमान्य रहेको चेतावनी दिए । ‘नेविसंघलाई नेपाल बृद्ध संघ बनाउने कुरा कक्षाकोठाका विद्यार्थीहरुको लागि स्वीकार्य हुँदैन । यो उर्जाशील विद्यार्थीहरु माथिको अपमान हो’ उनले भने ।

विधान पक्षधर विद्यार्थीहरुद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशन सम्पन्न गर्नका लागि नेपाली कांग्रेस पार्टीद्वारा गठित निर्देशन समितिले बनाएको विधान, निवर्तमान केन्द्रिय समितिद्वारा जिल्ला अधिवेशन सम्पन्न गर्नको निम्ति ७७ वटै जिल्लाहरुमा दिएको निर्देशन पत्र र नेपाल विद्यार्थी संघको विधान २०२७ को सातौं संशोधन २०७५ को भाग २, धारा ५ को उपधारा ५ मा भएको ‘३२ वर्ष उमेर पूरा भएको व्यक्ति नेपाल विद्यार्थी संघको सदस्य हुन पाउने छैन’ भन्ने व्यवस्था बमोजिम १६ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भएको, ४० जिल्लामा तल्लो तहको अधिवेशन सम्पन्न भैसकेको र बाँकी २१ जिल्ला अधिवेशनउन्मुख रहेको वर्तमान परिप्रेक्ष्यमा नेपाली कांग्रेस नेतृत्वबाट नेपाल विद्यार्थी संघलाई नेपाल बृद्ध संघ बनाउने चेष्टा गर्नु लोकतन्त्रको उपहास हो भन्ने ठहर गरेका छौं ।’

संघको विधानमा व्यवस्था भएको ३२ वर्ष उमेर हद कार्यान्वयन गरी नेविसंघ तदर्थ समिति गठन गर्नुपर्ने उनीहरुको माग छ । विधानअनुसार तदर्थ समिति गठन नभए नेपाली कांग्रेस केन्द्रिय कार्यालय सानेपामा आमरणअनसन सुरु गर्ने पनि उनीहरुको चेतावनी छ ।

प्रतिक्रिया दिनुहोस्